बाबुराम शर्मा
दोलखा, कात्तिक २० गते । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्नुहुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ।
पुजारीको काम गर्दै आउनुभएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ। महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोक्सो मात्र भोग खाने गरेको धार्मिक विश्वासका कारण महिला भित्र प्रवेश गरेमा अनिष्ट हुने र आँखासमेत बन्द हुने गरेको भएकाले मन्दिरभित्र प्रवेशमा वञ्चित गरिएको हो।
एक पटक दर्शन गरेपछि मनको इच्छा पूरा हुने धार्मिक आस्थाको धरोहर मानिएकाले यो मन्दिरमा पुरुषले मात्र पूजाआजा र दर्शन गर्ने गरेका छन्।
मन्दिरमा आएका जो कोही भक्तजनले यहाँ पूजा गरेको जल खाएको खण्डमा शरीरमा भएका धेरै रोग निको हुने धार्मिक विश्वास छ। चितवन, दैलेख, भोजपुर, सर्लाही, जनकपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछापलगायतका स्थानबाट भक्तजन सुविधा सम्पन्न अस्पतालमा उपचार गरे पनि रोग निको नभएपछि पाठी र परेवाको भाकल गरी यहाँ पूजाआजा गर्न आउने गरेका पुजारी बोहोराले सुनाउनुभयो।
यसरी पूजा गरेर रोग निको भयो भन्दै वर्षैपिच्छे दर्शनका लागि भक्तजन आउने गरेको बताइन्छ। मन्दिरको अगाडिपट्टि ८४ वटा महादेवको मूर्ति स्थापना गरिएको छ। ८४ वर्ष पुगेका दोलखा, रामेछाप र सिन्धुपाल्चोकका भक्तजन चौरासी गर्नका लागि यहाँ आउने गरेका छन्। यहाँ पूजा गरेको परेवा र पाठीको मासु पौराणिक कालदेखि नै तोकिएको सिमानाबाहिर लैजान नहुने हुँदा भक्तजनलाई मासु पकाउन भाँडाकुँडाको व्यवस्थासमेत गरिएको छ।
यहाँ तीज र बालाचतुर्दशीमा मेला लाग्ने गर्दछ। यो दिन बेलुका बत्ती बाल्नका लागि छिमेकी जिल्लाबाट धेरै सङ्ख्यामा भक्तजन आउने गरेका पुजारी बोहोराले जानकारी दिनुभयो।
सदरमुकाम चरीकोटबाट नजिकको गौरीशङ्कर बालगृहदेखि करिब सात किलोमिटर गाडी यात्रामा पुगिने धार्मिक र ऐतिहासिक महìव बोकेको यो मन्दिरमा मङ्गलबार र शनिबार भक्तजनको भीड लाग्ने गरेको छ। यहाँ विशेष पूजाआजा दुई दिन मात्र हुने हुँदा यी दिनमा दुई हजारभन्दा बढी भक्त जनको उपस्थिति रहने गरेको छ।
यातायातको सुविधा भएपछि गाडी लिएर आउनेको सङ्ख्या बढ्दै गएको छ। मन्दिर वरपर व्यापार गर्नेको पनि सङ्ख्या बढेको छ। अरू दिन दुई/तीन सय बिक्री हुने र शनिबार र मङ्गलबार भने हजारभन्दा बढी बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्।
पर्यटन प्रवर्द्धनका लागि भीमेश्वर नगरपालिकाले २९ लाख र सङ्घबाट १५ लाख रुपियाँ बजेट आएपछि छ लाख रुपियाँमा जग्गा खरिद, घेरावाल निर्माण, सिँढी निर्माण, सुरक्षण वाल, भण्डार घर निर्माण गरिनुका साथै नेत्रबहादुर कार्कीबाट जग्गा दान आएको छ। मन्दिर भने पुरातत्त्व विभागले पुनर्निर्माण गरिदिएको पूर्ववडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो।
पर्यटन प्रवर्द्धनका लागि संरचना बन्नु राम्रो हो तर आफूहरूलाई मन्दिर प्रवेशमा लाग्दै आएको निषेध हटाउनुपर्ने माग महिलाहरूले राखेका छन्।