मैथिली साहित्यका महाकवि विद्यापति साहित्यका महान् साधक थिए। उनको साहित्य साधनाले नै मैथिली साहित्यलाई लोकप्रिय र सर्वव्यापी बनाएको हो। विद्यापति दक्षिण मिथिलाको विस्फी भन्ने गाउँमा पिता पण्डित गणपति ठाकुर र माता गङ्गादेवीको पुत्रका रूपमा जन्मेका हुन्। उनका पिता तत्कालीन मिथिलाका राजा शिवसिंहको दरबारका राजपण्डित थिए।
विद्यापतिको जन्म सन् १३५० ई. एवं मृत्यु सन् १४५० ई. मा भएको बताइन्छ। महाकविले शिक्षा–दीक्षा महामहोपाध्याय पं. हरि मिश्रबाट प्राप्त गरेका हुन्। पिता गणपति ठाकुर राजा गणेश्वरको दरबारी पण्डित भएकाले विद्यापति उनकै साथमा दरबार गइरहन्थे। राजा गणेश्वरको मृत्योपरान्त कीर्तिसिंह राजा भए र महाकवि विद्यापति आफ्नो अध्ययनपश्चात् उनकै दरबारका कवि भए। त्यसपछि उनको साहित्य रचना सुरु भयो। त्यसपछि भव सिंह र शिव सिंह राजा भए। त्यसपछि देव सिंहकै राज्यकालमा शिव सिंहलाई युवराज बनाइयो। महाकविको युवराज शिव सिंहसँग मित्रवत् सम्बन्ध रहन थाल्यो। राजा महाकविको साहित्य रचनाबाट निकै प्रभावित भए। महाकविको पूर्ण पाण्डित्यको परिचय पाएर उनलाई राजकीय सल्लाहकारका रूपमा पनि राखियो।
राजा शिव सिंहको राज्यकालको बेला महाकवि विद्यापतिको साहित्यिक रचनाले गतिशीलता प्राप्त ग¥यो। पुरुष परीक्षाजस्तो कृतिको रचना गरेर निकै लोकप्रियता कमाए। यस कृतिबाट खुसी भएर राजा शिव सिंहले महाकवि विद्यापतिलाई उनी जन्मिएको पुर्खौली गाउँ नै ताम्रपत्र लेखेर बकस नै दिए। त्यस अतिरिक्त महाकविले संस्कृतमा विभागसार, दान वाकयावली, दुर्गाभक्त तरङ्गिनी, शैवसर्वस्वसार, लिखिनावली भू–परिक्रमाको रचना गरे भने मैथिलीमा विद्यापति पदावली, कीर्तिलता, कीर्तिपताका लेखे। जुन मैथिली साहित्यका धरोहर हुन्।
महाकवि विद्यापतिको सबभन्दा लोकप्रिय रचनामा पदावली मानिएको छ। जुन ग्रामीण लोकभाषामा लेखिएको छ। विद्यापतिका साहित्यिक रचनाले मिथिलाभन्दा बाहिर बङ्गाल, आसाम, उडिसा एवं दक्षिण भारतका प्रान्तलाई प्रभावित पारेको छ। बङ्गाली त विद्यापतिलाई आफ्नै भाषाका कविका रूपमा मान्छन् किनकि मैथिली र बङ्गाली भाषाको लिपि र शब्द मिल्छन्।
विद्यापतिका रचनाको प्रभाव प्रख्यात बङ्गाली भाषाका कवि रवीन्द्रनाथ ठाकुरको रचनामा पनि देखिएको छ। विद्यापतिका रचनाको प्रभाव हिन्दीलगायत अन्य भाषामा पनि परेको छ।
यतिसम्म कि काठमाडौँ उपत्यकाका नेवारी भाषामा पनि परेका छन्। मल्लकालमा नेपाल मैथिली साहित्यको स्वर्णयुगका रूपमा मानिएको छ। मल्ल राज्यकालमा राज्याश्रित कविले मैथिलीमा नाटकलगायत रचना गरेका थिए। तत्कालीन मल्ल राजा जगज्योति मल्ल, सिद्धनरसिंह मल्ला र प्रताप मल्ललगायतले मैथिलीमा नाटक लेखेका थिए। त्यसैगरी राजकवि वंशमणि झा, रामचन्द्र झा, विश्वनाथ झाजस्ता कविले मैथिलीमा रचना गरेका थिए।
काठमाडौँस्थित पुरानो दरबार पुस्तकालय हाल राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित वर्ण रत्नाकर ग्रन्थको प्रथम खोजकर्ता कोलकाता विश्वविद्यालयका प्राध्यापक डा. हरप्रसाद शास्त्रीले सन् १८९५ ई.मा गरेका थिए। त्यस ग्रन्थको सम्पादन प्रसिद्ध भाषाविद् डा. सुनीति उमार चहर्जीले गरेका थिए। आजभन्दा करिब सात सय वर्षभन्दा अघि नै मैथिली साहित्यका ग्रन्थको रचना भएको थियो। विद्वान्हरूले वर्ण रत्नाकरलाई दक्षिण एसियाको भारोपीय भाषाको प्रथम ग्रन्थका रूपमा मान्यता दिएको छ। राष्ट्रिय अभिलेखालयमा मैथिलीका दर्जनौँ विद्यापतिद्वारा रचित तथा अन्य विद्वानहरूद्वारा रचित रचना छन्। यसको अनुसन्धान आजसम्म भएको छैन। मैथिलीका पुराना ग्रन्थको खोजी गरी प्रकाशन गर्नु आवश्यक छ। यसका लागि मैथिलीका विद्वान्का साथै प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशनको ध्यान जानु आवश्यक छ।
महाकवि विद्यापतिले १२ वर्ष प्रवासकालीन जीवन महोत्तरीको बनौलीमा बिताएका थिए। तत्कालीन मिथिलाको राजधानी गजरथपुरमाथि जोनपुरका सुल्तानले आक्रमण गर्दा राजा शिव सिंहले आफ्नी रानी लखिमासँगै महाकवि विद्यापतिलाई द्रोणवारीय वंशका राजा पुरादित्यको दरबार राजबनौलीमा शरणार्थीका रूपमा पठाएको थियो। त्यो राजबनौली (महोत्तरी)मा बस्दा राजा पुरादित्यको आदेशमा लिखनावली र श्रीमद् भागवत गीताको रचना गरेका थिए। लिखनावलीमा राजकाजसम्बन्धी विधिविधान लेखिएका छन् भने श्रीमद् भागवत गीताको संस्कृतबाट मैथिलीमा अनुवाद पनि गरेका थिए। महाकविले लिखनावलीमा एउटा श्लोक लेखेका छन्–
जित्वा शत्रुकुल तदीय वसु भिर्यतार्थिन स्तर्पिता।
दोहर्याजित सप्तरी जनपद राज्यस्थित कारिता।।
सङ्ग्रामेअर्जुनः भूपति विनिहतो बन्धौ नृशंसावित।
स्तनेनेय लिखनावली नृप पुरादित्य निर्मापिता।।
अर्थात् जसले शत्रुलाई जितेर सप्तरी जनपद राज्य स्थापित गरे र सङ्ग्राममा बन्धुबान्धव पर्ने राजा अर्जुनलाई हत्या गरियो, त्यही पुरादित्य राजाका आज्ञाले यो लिखनावलीको रचना गरिएको हो।
उक्त श्लोकमा सप्तरी जनपदको उल्लेख गरिएको छ। ‘जनपद’ शब्दको अर्थ राज्यसित सम्बन्धित छ। त्यतिबेला राज्यको अर्थमा ठाउँठाउँमा जनपद शब्दको प्रयोग भएको छ। संस्कृत साहित्यमा त जनपद शब्दकै बढी प्रयोग भएको छ। विद्यापतिले लिखनावली लक्ष्मण संवत् ३०९ मा लेखेका थिए। अहिले लक्ष्मण संवत् ९१३ चलिरहेको हुँदा ६०४ वर्षअघि त्यो लेखिएको स्पष्ट छ। त्यतिबेला सप्तरी जनपद (राज्यअन्तर्गत) सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला पर्दथ्यो। यसरी महाकवि विद्यापति महोत्तरी जिल्लास्थित राजबनौलीमा बसेर लिखनावली लेखेको स्पष्ट छ। कतिपयले सप्तरीको बनौलीमा लेखिएको भन्छन्। बनौली नामको गाउँ सप्तरी, सिराहा, धनुषा, महोत्तरीजस्ता तराईका जिल्लामा छन्। सबै बनौली नाम भएका गाउँले महाकवि विद्यापति गाउँमा बसेको आआफ्ना तर्फबाट दाबी गर्न थालियो भने कसलाई मान्यता दिने भन्ने प्रश्न खडा हुन्छ।
महाकवि विद्यापतिको प्रवासकाल बसाइको विवाद गर्नुभन्दा उहाँका कृति खोजी गरी संरक्षण र प्रकाशन गर्नु वाञ्छनीय हुन्छ। यसतर्फ नेपाल प्रज्ञाप्रतिष्ठानको पनि ध्यान जानुपर्छ। मैथिली भाषाको एउटा छुटै प्रज्ञाप्रतिष्ठान गठन हुनु आवश्यक छ। मधेश प्रदेश सरकारले प्रदेशस्तरमा प्रज्ञाप्रतिष्ठान गठन गरे पनि त्यसले पूर्णता पाएको छैन। अतः यथाशीघ्र पूर्णता दिई मैथिली भाषा र साहित्यको उत्थानका लागि पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा प्राज्ञिक वर्गको मत छ। महाकवि विद्यापतिका साहित्यिक कृतिको अनुवाद नेपाली भाषामा पनि गर्नुपर्छ। यसो गर्न सके नेपालको दोस्रो राष्ट्रभाषाका रूपमा रहेको मैथिली र नेपालीबीच प्रगाढ सम्बन्ध स्थापित हुनेछ।