• १३ साउन २०८१, आइतबार

अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन निर्माण प्रक्रिया सुरु

blog

फाइल सांकेतिक तस्बिर

नवलपरासीपूर्व, कात्तिक १९ गते । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडा नं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताउनुभयो ।

सवस्टेशन निर्माणका लागि आवश्यक चार बिघा जमिनको मुआब्जा वितरणको काम सकिएको उल्लेख गर्दै उहाँले एसियाली विकास बैङ्कको सात मिलियन अमेरिकी डलर सहयोगमा दुई वर्षभित्र निर्माण गरिने हुने यस आयोजनाका लागि ठेकेदार कम्पनी छनोट गरी सम्झौताको काम अगाडि बढिसकेको जानकारी गराउनुभयो ।

हाल बर्दघाटबाट ह्वाङ्सी सिमेन्ट उद्योगसम्म आएको १३२ केभि प्रसारण लाइनमा डबल सर्किटको सवस्टेशन निर्माण गरिनेछ । सवस्टेशन निर्माणपछि मध्यबिन्दु नगरपालिका र उक्त गाउँपालिकाका उपभोक्ताले भोग्नुपरेको भोल्टेजसम्बन्धी समस्या समाधान हुनेछ ।

हाल उक्त नगरपालिकाको गिरुवारी खोलापूर्व क्षेत्रमा प्रगतिनगर सवस्टेशन र पश्चिमतर्फ बर्दघाट सवस्टेशनमार्फत विद्युतीयकरण हुँदै आएको छ । अब सवस्टेशन निर्माणपछि गिरुवारी खोला पश्चिमका साथै उक्त  नगरपालिका र गाउँपालिकामा सोही स्टेशनबाट विद्युत् प्रसारण हुनेछ । हाल यहाँका बासिन्दाले कम भोल्टेजका कारण  समय समयमा विद्युत् अवरुद्ध हुने समस्या झेल्दै आएका छन् ।

सवस्टेशन निर्माणले स्थानीय उपभोक्ताले भोग्नुपरेको समस्या समाधानसँगै स्थानीयस्तरमा लगानीको वातावरणसमेत तयार हुने गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । हाल यस गाउँपालिकामा उद्योग तथा व्यवसाय स्थापनाका लागि आउने व्यवसायीको सङ्ख्या उल्लेखनीय रहेको उहाँले जानकारी दिनुभयो । 

“ गाउँपालिकाभित्र सञ्चालित देशकै ठूलो सिमेन्ट उद्योगसहित यहाँ सञ्चालित अन्य उद्योग त यसै पनि लाभान्वित हुन्छन्,” अध्यक्ष गिरीले भन्नुभयो, “नयाँ व्यवसाय गर्न चाहने व्यवसायीलाई पनि आवश्यक पूर्वाधारको उपलब्धता भए लगानीमैत्री वातावरण अवश्य बन्छ ।”