रामेछाप समाचारदाता
रामेछाप, कात्तिक १८ गते । रामेछाप सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शय्याको मन्थली अस्पताल निर्माणको काम छ महिनादेखि बन्द भएको छ।
आगामी मङ्सिर मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने यो अस्पतालको काम २० प्रतिशत पनि पूरा भएको छैन। अस्पतालको काम गएको जेठ महिनाबाट बन्द छ। २० प्रतिशत काम पनि नसकी प्रक्रिया मिलाएर सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट पेस्कीसहित दुई करोड ९० लाख १५ हजार ३५५ रुपियाँ भुक्तानी लिएपछि ठेकेदार सम्पर्कविहीन बनेका थिए।
त्यसपछि रोकिएको काम अहिलेसम्म सञ्चालन नहुँदा भवन निर्माणमा प्रयोग भएको रडमा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको स्थानीय वीरेन्द्र श्रेष्ठले बताउनुभयो। अस्पतालको काम रोकिएको छ महिना बितिसक्दासमेत स्थानीय सरकार, स्थानीय प्रशासन मौन छन्। अस्पतालको काम सकेर प्रभावकारी स्वास्थ्य सेवा दिन कसैको ध्यान गएको छैन।
आगामी मङ्सिरसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १० गते अस्पताल भवनको शिलान्यास भएको थियो। निर्माणको जिम्मा लिएको श्री गाल्वा/लालशुभमान्द्रो जेभी काठमाडौँले २० प्रतिशत पनि काम नसकी अलपत्र छाडिदिएको छ। भौतिक पूर्वाधार अभावमा अहिले मन्थली अस्पताललाई बिरामीको उपचार गर्न समस्या भएको मन्थली अस्पतालका प्रमुख समीर क्षेत्री बताउनुहुन्छ। “अस्पताल निर्माणको काम रोकिएको छ महिना भइसक्यो। ठाउँ अभावकै कारण अस्पताललाई सेवा प्रवाहमा समस्या भइरहेको छ,” उहाँले भन्नुभयो।
बागमती प्रदेश सरकारको लगानीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड ३२ लाख ५० हजार ९८६ रुपियाँमा अस्पताल बन्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। लामो समयदेखि अस्पतालको काम निर्माण व्यवसायीले रोकेर राखेको मन्थली नगरपालिका प्रमुख रवि श्रेष्ठले बताउनुभयो।
“अस्पताल निर्माणको काम लामो समयदेखि बन्द छ। सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापसँग चाडै काम सुरु गर्ने सम्झौता भएको छ भन्ने सुनिएको छ,” उहाँले भन्नुभयो। अस्पताल निर्माणको जिम्मा पाउने निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमा आउन नचाहेकाले अब नगरपालिकाले भवन निर्माण आयोजनासँग छलफल गरेर ठेक्का रद्द गर्ने र कानुनी बाटोमा जाने उहाँले बताउनुभयो।