• १२ असोज २०८१, शनिबार

निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार : मन्त्री कार्की

blog

सुनसरीमा सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मतदातासँग । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक १८ गते । सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनले बहुमत ल्याउने बताउनुभएको छ । निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार गठन हुने उहाँको भनाइ छ ।

मन्त्री कार्कीले शुक्रबार जिल्ला सदरमुकाम इनरुवा नगरपालिका –३ मा कांग्रेसका नेता तथा कार्यकर्ता भेटघाट र घरदैलौ कार्यक्रममा सो कुरा बताउनुभएको हो । कांग्रेस केन्द्रीय सदस्य तथा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले सुनसरी प्रतिनिधि सभा सदस्य क्षेत्र नं ४ का उम्मेदवार भएकाले घरदैलो अभियानमा निर्भीक भएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

कांग्रेसले १५० सिट लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको मन्त्री कार्कीले बताउनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “प्रतिनिधिसभामा २७५ सिट रहेको छ, त्यसमा १३८ आएमा बहुमत पुग्छ । देशभरबाट १५० सिटको गन्तव्यसहित हामी निर्वाचनमा छौँ ।” सत्ता गठबन्धनले प्रत्यक्षतर्फ १५० र समानुपातिक तर्फ ५१ प्रतिशत लोकप्रिय मतसहित बहुमत प्राप्त गर्नेछ ।”

कार्कीका अनुसार कांग्रेसले एक्लै प्रत्यक्षमा ९१ सिटमा चुनाव लडेको छ । त्यसमध्ये ७० देखि ८० सिटमा विजयी हुने उहाँले दाबी गर्नुभयो ।