• १३ साउन २०८१, आइतबार

महाकाली सन्धि कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष ओली

blog

कैलालीमा पुग्नुभएका नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई स्वागत गर्दै पार्टीका नेता तथा कार्यकर्ता । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी 

धनगढी, कात्तिक १८ गते। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ। 

शुक्रबार कैलालीको अत्तरियामा एमालेद्वारा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सन्धि कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो। अध्यक्ष ओलीले महाकाली सन्धि कार्यान्वयनमा भारतबाट ढिलासुस्ती भइरहेको उल्लेख गर्नुभयो। उहाँले नेपालमा पनि सरकार फेरबदल भइरहँदा काम तदारुकतासाथ अगाडि नबढेको बताउनुभयो। 

‘एउटा सरकारले अलि–अलि काम बढायो, फेरि अर्को सरकार आउँछ’, उहाँले भन्नुभयो,‘अलि–अलि बढेको काम पनि त्यसपछि हुँदैन।’

सुदूरपश्चिममा धेरै विकास गर्नुपर्छ भनेर आफू नेतृत्वको सरकारले यातायात, बाटाघाटा, पुलमा धेरै सुधार गरेको ओलीको भनाइ थियो। टनकपुर परियोजनादेखि महाकाली एकीकृत विकास परियोजनासम्म सफल पारेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो,‘कुनै भावनामा बग्नु जरुरी छैन। यहाँसम्म आइपुग्दा हामीले के कति विकास गरेका छौँ भन्ने छर्लङ्ग छ।’

सुदूरपश्चिममा यत्रो ठूलो गेटा मेडिकल कलेजको संरचना तयार पारिए पनि अहिलेको सरकारले यो मेडिकल कलेज कार्यान्वयन गर्नुको सट्टा अन्तैतिर अर्को मेडिकल कलेज बनाउने निर्णय गरेको ओलीको भनाइ थियो। ‘संरचना बनिसकेको मेडिकल कलेजलाई सरकारले चलाउन सकेन’, उहाँले अगाडि थप्नुभयो,‘एमालेको सरकार भएपछि गेटा मेडिकल कलेज चलाउँछौँ। यहाँको विकास पनि गर्छौँ।’

अध्यक्ष ओलीले कैलालीमा हुँदै आएको डुबानबारे आफूलाई थाहा रहेको बताउनुभयो। खास गरेर भारतको बाँध र कतिपय नदीको पानी सजिलै तल झर्न नसकेका कारण डुबान भइरहेको उहाँले बताउनुभयो। यस्तै, यहाँ रहेका विभिन्न नदीहरूले गरिरहेको कटान समस्या समाधान गर्न पनि अगाडि बढ्ने उहाँको भनाइ थियो।   

कैलालीमा दुईतिरबाट सिँचाइ सुविधा गर्न सकिने भन्दै ओलीले कर्णाली नदीबाट केही भूभागमा सिँचाइ पुर्‍याइएको बताउनुभयो। त्यस्तै महाकालीतर्फबाट पनि सिँचाइ ल्याउँदै गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले यसबाट पश्चिमतिरको धेरै भूभागमा सिँचाइ गर्न सकिने बताउनुभयो। 

यसैगरी, धनगढी विमानस्थलको स्तरोन्नति कार्यलाई अगाडि बढाउने उहाँको भनाइ थियो। कैलाली बहुमुखी क्याम्पसलाई केन्द्रीय क्याम्पसको रूपमा बनाउन सकिने भन्दै उहाँले अगाडि थप्नुभयो,‘यहाँका यी सबै कुरा हामीलाई थाहा छ। त्यसकारण कुन रूपमा विकास गर्नु पर्दछ, त्यसतर्फ हाम्रो ध्यान जानेछ।’

अध्यक्ष ओलीले नेकपा (एमाले) मात्रै देश बनाउने ऊर्जा भएको पार्टी रहेको बताउनुभयो। ‘देश बनाउने नीति, कार्यक्रम, कार्यक्रम कार्यान्वयन गर्ने योजना, गन्तव्य, उद्देश्य र त्यस उद्देश्यसम्म पुग्ने बाटाहरू एमालेसँग छ’, उहाँले भन्नुभयो।