• ७ मंसिर २०८१, शुक्रबार

वैदेशिक रोजगारीमा जानेलाई आईपीओ

blog

काठमाडौँ, कात्तिक १८ गते । अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)मा कोटा छुट्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई छुट्याउनुपर्ने व्यवस्था गरेको हो । छुट्याएको सेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नुअगावै १५ दिनको अवधि तोकी आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

कम्पनीले निष्कासन गरेको सेयरमा आवेदन दिँदा अनुमति प्राप्त आस्वा बैङ्क तथा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) खाताबाट मात्रै आवेदन दिनुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ ।

निर्देशिका बिहीबारदेखि नै लागू भएको बोर्डले जनाएको छ । त्यसअनुसार अब आईपीओ निष्कासन गर्ने कम्पनीले विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई समेत कोटा छुट्याउनुपर्नेछ ।