• १३ साउन २०८१, आइतबार

लुक्लामा हवाई चाप उच्च

blog

सन्तोष राउत

सोलुखुम्बु, कात्तिक १८ गते । पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका एक सयभन्दा बढी अवतरण हुने गरेका छन् । 

पर्यटकीय सिजनको मध्य भएकाले फर्कने पर्यटकको सङ्ख्या बढी भएको नेपाल नागरिक उड्डयन कार्यालय, लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक तारा एयर, सीता एयर र समिट एयरलाइन्सले उडान भर्ने गरेका छन् । 

हवाईजहाज र हेलिकोप्टरबाट गरी दैनिक एक हजार हाराहारीमा विदेशी तथा स्वदेशी पर्यटक लुक्लामा आहोरदोहोर गर्ने उहाँले बताउनुभयो । 

यस वर्षदेखि रामेछाप विमानस्थलबाट उडान गर्न थालेपछि सहज भएकाले पनि उडान धेरै भइरहेको प्रमुख अछामीले बताउनुभयो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा ट्राफिकका कारण उडान र अवतरणमा समय लाग्ने हुँदा सहज उडान गर्न सकिएको थिएन ।

असोजदेखि सुरु भएको यो सिजन कात्तिकको अन्त्यसम्म चल्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । यो मौसममा हरेक वर्ष लुक्ला विमानस्थलमा बढी उडान हुने गर्छ । सिजनका बेला पर्यटकीय विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर एयरलाइन्सले उडान गर्ने भएकाले जिल्लाका अन्य विमानस्थलमा भने उडान कम हुने गरेको छ । 

सोलुखुम्बु जिल्लाका चारवटा विमानस्थलमध्ये स्याङ्बोचे विमानस्थल र काँगेलडाँडा विमानस्थल बन्द छन् भने फाप्लु विमानस्थलमा फाटफुट उडान हुने गरेको छ ।