• १३ साउन २०८१, आइतबार

बाटो चौडा गर्न धनगढीमा संरचना भत्काइँदै

blog

सडक चौडा बनाउनका लागि धनगढीमा संरचना भत्काइँदै ।

अविनाश चौधरी

धनगढी, कात्तिक १७ गते । धनगढीको मुख्य बजार क्षेत्रको बाटो फराकिलो बनाउनका लागि सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरिएको छ । चाडपर्व सकिएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरेको हो । उपमहानगरपालिकाले संरचना भत्काउने कार्यको सुरुवात बिहीबार सेती प्रादेशिक अस्पताल मातहत रहेका सटर भत्काएर गरेको थियो । 

सो कार्यालयले केही महिना अगाडि नै सार्वजनिक सूचना जारी गरेर बाटो विस्तारका लागि कैलाली पुलदेखि पूर्व क्याम्पस चौकसम्म सडक अधिकार क्षेत्रभित्रका संरचना भत्काउने अग्रिम जानकारी गराएको थियो । उपमहानगरपालिकाको कार्यालयले छठपछि संरचना भत्काइने भएकाले सामान अन्यत्र राख्नका लागि व्यापारी, घरधनीहरुलाई आग्रह गरेको थियो । 

नगरपालिकाको सूचनापछि केही व्यापारीले आफैँ पनि संरचना हटाएका थिए । तर नहटाइएका संरचनाहरु धनगढी उपमहानगरपालिकाको कार्यालयले हटाउन थालेको छ । पहिले सरकारी संरचना भत्काउँदा राम्रो सन्देश जाने भएकाले सडक अधिकार क्षेत्रभित्रका संरचना हटाउने कार्यको सुरुवात अस्पतालको सटर भत्काएर गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले बताउनुभयो । ‘कैलाली पुलदेखि क्याम्पस चौकसम्मको बाटो सबै क्लियर गर्छौ’, उहाँले भन्नुभयो । 

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीस्थित मुख्य बजार क्षेत्रको सडकलाई फराकिलो बनाउनका लागि संरचना भत्काउन थालिएको हो । कैलाली पुलदेखि ट्राफिक चौराहासम्म भने यसअघि नै बाटो फराकिलो पारिएको थियो । पूर्वतर्फ बाटोको चौडाइ बढाउने सवालमा विवाद भएपछि उपमहानगरपालिकाको कार्यालय पछि हटेको थियो । 

स्वतन्त्रबाट निर्वाचित हुनुभएका मेयर हमालले सो कार्यलाई अगाडि बढाउनुभएको छ । बाटो चौडा बनाउनका लागि सडकको दुवैतिर १५÷१५ मिटरभित्र परेका संरचना हटाइने मेयर हमालले बताउनुभयो । संरचना भत्काउने स्थानमा उहाँको उपस्थिति थियो । यसैगरी नेपाल प्रहरी, नगर प्रहरी पनि डोजर चलिरहेका स्थानमा खटेका थिए ।