• ९ मंसिर २०८१, आइतबार

अतिक्रमणको चपेटामा सिकार आरक्ष

blog

बागलुङ समाचारदाता

बागलुङ, कात्तिक १७ गते । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष केन्द्र अतिक्रमणको चपेटामा परेको छ। बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको सिकार आरक्षको १७५ हेक्टर जमिन अतिक्रमण भएको हो। आरक्ष केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा भएको करिब १० हेक्टर अतिक्रमित भूभाग खाली गराएको थियो। उक्त क्षेत्रमा म्याग्दीका स्थानीयवासीले अस्थायी टहरा निर्माण गरी मौसमी बसाइ गर्दै आएका थिए। 

गत वर्ष अस्थायी गोठ हटाएर जमिन खाली गरेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो। कँडेलका अनुसार आरक्षको विभिन्न ३४ स्थानको जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमित भूभागमा ३११ घरधुरीले घरटहरा निर्माण गरेर बसोबास गरेका छन्। सबैभन्दा बढी म्याग्दी जिल्लाको भागमा अतिक्रमण रहेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ। प्रशासनिक सुविधा नभएका कारण अतिक्रमण रोक्न कठिन परेको छ। उहाँका अनुसार आरक्षको पाखाथर, गाडीखोला, खालुडेखुलुडी, लामखोरिया, छेन्तुङ, सल्लाथान, नवी, स्यालपाखे, सल्लाथान क्षेत्रमा रहेका ३० परिवारले बारबन्देज गरेको जग्गा आर्थिक वर्ष २०७७/७८ मा खाली गरिएको थियो। 

कुल एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षको म्याग्दीतर्फ लुलाङखोरिया र गुर्जाखानी, रुकुमको रन्मा, मैकोट, तकसेरा, कोल, रन्मा र काक्री तथा बागलुङको निसी, बोङ्गादोभान, अधिकारीचौर र बोवाङको क्षेत्रमा जग्गा अतिक्रमण भएको छ। अतिक्रमित जमिनमा स्थानीयवासीले स्याउ, आलुलगायतका खाद्यान्न तथा फलफूल खेती गरेका छन्। अतिक्रमण रोक्न स्थानीयवासीसँग आरक्षले पटकपटक आग्रह गरे पनि सफल भएको छैन। 

अधिकांश क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाउन नसक्नु नै अतिक्रमणका लागि सजिलो भएको कार्यालय प्रमुख कँडेलको भनाइ छ। विगत तीन वर्षदेखि अतिक्रण हटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन। केही घर आरक्ष स्थापना हुनुभन्दा अगावै रहेका कारण सरकारले लालपुर्जा दिलाउनुपर्ने या बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख कँडेलको भनाइ छ। लालपुर्जा वितरण, राहत तथा पुनस्र्थापना गर्न सरकारको मन्त्रिपरिषद्को बैठकले नै टुङ्ग्याउनुपर्ने भएकाले अतिक्रमण हटाउन आरक्ष कार्यालयले नसकेको कँडेलले बताउनुभयो। 

आरक्ष केन्द्र घोषणा हुनुपहिले नै बसोबास तथा खेतीपातीका लागि भोगचलन गर्दै आएको जग्गाको विषयमा आरक्ष केन्द्र र स्थानीयबीच विवाद कायम रहेको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो। आरक्ष केन्द्रले स्थानीयवासीलाई नीति नियम तथा विषयवस्तु बुझाउन नसक्दा समस्या भएको उहाँले बताउनुभयो। आरक्ष स्थापना हुनुपूर्व स्थानीयले हाल आरक्षले दाबी गरेको क्षेत्रमा खेतीबाली, मठमन्दिर, अस्थायी टहरा निर्माण गरेका छन्।