• १३ साउन २०८१, आइतबार

चाडपर्वको फोहोर सफा गरिँदै

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, कात्तिक १७ गते । चाडपर्वमा लाग्ने मेलाले अव्यवस्थित बन्ने गरेको जनकपुरधाम उपमहानगरपालिका सफा र व्यवस्थित बनाउन लागिएको छ। 

दशैँ, तिहार र छठ नसकिँदासम्म जनकपुरधामका सडकपेटीमा फुटपाथ बजार राख्ने गरिएको थियो। यस्तो बजार राख्दा चारैतर्फ फोहोर बढेको थियो र बजारका मुख्य सडक अस्तव्यस्त भएका थिए।  चाडपर्व सकिएपछि सरसफाइ र बजार व्यवस्थित बनाउन लागिएको हो। 

नगरप्रमुख मनोजकुमार साहले भन्नुभयो, “फुटपाथमा राखिएका बजार कहिले रोजीरोटी, कहिले चाडपर्वमा लाग्ने मेलाका नाममा पुरानै शैलीमा अव्यवस्थित भएपछि व्यवस्थित बनाउन निरन्तर लागिरहेको छु।” 

फुटपाथ व्यापारीका लागि नौ कट्ठा जग्गाको पनि व्यवस्था भइसकेको र  दर्ता भएका फुटपाथ पसललाई त्यहीँ व्यवस्थित गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो।  

जनकपुरधामको प्रमुख समस्या फोहोर, छाडा चौपाया, अव्यवस्थित बजार र सवारीसाधन पार्किङ व्यवस्थापनका लागि उपमहानगरपालिकाले काम सुरु गरिसकेको उहाँले बताउनुभयो। 

फोहोर सङ्कलनका लागि तिहारअघि उपमहानगरपालिकाले १ देखि ११ सम्मका वडालाई ११ वटा ट्याक्टरसमेत वितरण गरेको थियो। वडा नं. ४ को फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको संस्था अर्थ क्लिन ग्रिन फाउन्डेसनले फोहोर व्यवस्थित गर्न जडान गरेको प्लान्टका लागि बत्ती जडान गरिने नगरप्रमुख साहले बताउनुभयो। 

यसैगरी वडा नं. १६ मा छ कट्ठा जग्गामा फोहोर व्यवस्थापन गरिँदै छ भने छाडा चौपाया व्यवस्थापनका लागि वडा नं. २५ मा गौशाला निर्माण हुँदै छ। यसैगरी पार्किङका लागि दशरथ तलाउ नजिक १६ कट्ठा जग्गा व्यवस्थापन भएको उहाँले बताउनुभयो।  

अर्थ क्लिन ग्रिन फाउन्डेसनले जनकपुरधामको फोहोर व्यवस्थापनका लागि वडा नं. २३ विन्हीमा १२ कट्ठा जग्गामा डम्पिङ साइट निर्माण गरेको फाउन्डेसनका अध्यक्ष दिपु ठाकुरले जानकरी दिनुभयो।