• ७ पुस २०८१, आइतबार

राष्ट्रिय सुरक्षा थप सुदृढ बनाइने

blog

काठमाडौँ, कात्तिक १७ गते । आउँदो मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । दुई ठूला शक्ति सम्पन्न राष्ट्रका बीचमा अवस्थित नेपालको राष्ट्रियताको महìवलाई आत्मसात् गरी राष्ट्रिय सुरक्षाको सवालमा विभिन्न पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । राष्ट्रिय हित र स्वाभिमानको रक्षा, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा तथा मानवीय सुरक्षा सुनिश्चित हुने गरी राष्ट्रिय सुरक्षा नीतिको विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा व्यक्त गरिएको छ । 

शान्ति, स्थायित्व र जनाधिकारको रक्षा गरी मुलुकको आन्तरिक एकतालाई सदृढ गर्दै नेपाली राष्ट्रियताप्रतिको गौरवबोध र राष्ट्रिय एकताको भाव संवद्र्धन गर्ने जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई साधनस्रोतयुक्त तथा आधुनिक बनाउने उल्लेख गरिएको छ । राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा आँच पु-याउने विभाजनकारी र विखण्डनकारी क्रियाकलापलाई निरुत्साहित र नियन्त्रण गरिने एमालेले प्रतिबद्धता जनाएको छ । यस्तै राष्ट्रिय सुरक्षा प्रणालीलाई दिगो, सदृढ र व्यापक बनाउन राष्ट्रिय सुरक्षा रणनीति तर्जुमा गरी अघि बढाइने जनाइएको छ । 

स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र सम्बन्ध तथा संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय सम्बन्धलाई एमालेले प्राथमिकतामा राखेको छ । ‘सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता’ को नीति अवलम्बन गरी एमालेले विदेश सम्बन्ध स्थापित गर्ने र यससँगै सार्वभौम समानताको नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । वास्तविक अर्थ र मर्मका साथ  देशको स्वाधीनता र स्वतन्त्रताको प्रयोग गर्ने तथा छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने उल्लेख गरिएको छ । 

यसैगरी नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सुरक्षा नीतिमा छिमेकी राष्ट्रसँगको सीमा समस्या समाधान गरी अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब सिर्जना गर्ने जनाएको छ । घोषणापत्रमा नेपालका अन्तर्राष्ट्रिय सिमाना तथा अन्तर्राष्ट्रिय कानुन र स्थापित मूल्य मान्यताअनुरूप नियमित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सीमा क्षेत्र दसगजालाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिने र देशबाट बाहिरिने र देशमा भित्रिने मानिसको व्यवस्थित रेकर्ड राखिने जनाइएको छ । नेपालसँगको खुला सिमानालाई व्यवस्थित गरी मानव बेचबिखन तथा ओसार–पसार र अन्य अपराधहरू नियन्त्रण गर्न पनि सहज हुने एकीकृत समाजवादीको निष्कर्ष रहेको छ ।