• १२ असोज २०८१, शनिबार

हात्तीको समस्या समाधान गर्ने प्रतिबद्धता

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १६ गते । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री अग्नि खरेलले झापाको क्षेत्र १ को प्रमुख समस्या नै हात्तीको आतङ्क रहेकाले सो समस्याको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनुभएका खरेलले हात्ती समस्याको बिषयमा स्थानीयवासीले आश्वासनमा अल्मलिनुपरेको भन्दै अब यस्तो अवस्था नआउने बताउँदै सो प्रतिबद्धता जनाउनुभएको हो ।

चन्द्रगढीदेखि बाहुनडाँगीसम्म, ज्यामिरगढीदेखि शान्तिनगरसम्म यो समस्या विकराल रुपमा छ, उहाँले भन्नुभयो । केही ठाउँमा विद्युतीय तारबार लगाइएको छ र त्यो पनि धेरै टिकिरहेको छैन भन्ने गुनासो सुनेको छु उहाँको भनाइ छ । 

यसले केही न केही हात्तीको आतंक नियन्त्रणमा सघाउ पुगिरहेको भए पनि सबैतिर त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो । हात्ती नियन्त्रणको स्थायी समाधान नभइञ्जेलसम्म विद्युतीय तारबार विस्तारलाई निरन्तरता दिइरहने उहाँको प्रतिबद्धता छ । 

“यहाँका नागरिक तथा मतदाताले हात्तीको आतङ्कबाट सुरक्षा माग गरेको सुनेको छु,  सीमामा रहेको मेची नदीको पश्चिमी किनारमा बलियो तटबन्ध बनाउन सकेमा हात्तीलाई रोक्न सकिन्छ” उहाँले भन्नुभयो । हामी तटबन्धका लागि योजना ल्याउँछौ त्यसले एकातिर मेची नदीको कटान रोकिनेछ भने अर्कोतिर हात्तीको आतङ्कबाट मानिसहरु सुरक्षित हुनेछन्, खरेलले भन्नुभयो । “अब टालटुले होइन, गफमा होइन, स्थायी र दीर्घकालीन समाधानको बाटोमा हिँड्न हामी प्रतिबद्ध छौं” खरेलले भन्नुभयो ।

झापाको मेची नगरपालिकाको बाहुण्डाँगीमा हात्तीको समस्याका कारण दर्जनौ घरपरिवारको उठिवास लागेको छ । यहाँ बर्षभरी नै भारतबाट हुलका हुल जङ्गली हात्तीहरु नेपाल प्रवेश गर्ने गरेका छन् । यहाँबाट प्रवेश गरेका हात्तीले यस क्षेत्रसहित आसपासका पालिकामा समेत बर्सेनि धेरै जनधनको क्षति हुँदै आएको छ ।