वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ।
विश्व बैङ्कद्वारा सोमबार सार्वजनिक नेपाल डेभलपमेन्टले जलवायु परिवर्तनका कारण नेपाली अर्थतन्त्रका कृषि, पूर्वाधार संरचना तथा श्रम उत्पादकत्व क्षेत्र प्रभावित हुने जनाएको छ। कुनै पनि अर्थतन्त्रका प्रमुख क्षेत्र हुन कृषि, पूर्वाधार संरचना र श्रम उत्पादकत्व अर्थतन्त्रका मूलभूत विषय हुन्। यी महत्वपूर्ण क्षेत्र प्रभावित हुनेको अर्थ मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित हुने दिशातिर अग्रसर छ। जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनस्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा निकै नकारात्मक प्रभाव परिरहेको छ। यो अवस्था हामीले विगत केही वर्ष यतादेखि निरन्तर जसो भोग्दै आइरहेका हौँ। बालीनाली तयार भएर उठाउने बेलामा बाढी र डुबानले तहसनहस पारेको छ। कहिलेकाँहीमध्ये वर्षात् याममा खडेरी परेको भोगिएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने प्रभावका फलस्वरूप सन् २०३० अर्थात् एक दशकभन्दा कमको अवधिमा कुल आर्थिक वृद्धिदर शून्य दशमलव सातदेखि शून्य दशमलव आठ प्रतिशतले सङ्कुचन आउने विषय स्वाभाविक रूपमा चिन्ताको विषय हो।
जलवायु परिवर्तनको उपज बढ्दो विश्वव्यापी तापमान बढ्दो क्रममा छ। बाढीपहिरो, अनियमित वर्षा आदिका कारण सडक, पुल, सिँचाइ, आवास खानेपानीजस्ता भौतिक पूर्वाधारका संरचना निकै प्रभावित हुने देखिन्छन्। विश्व बैङ्कको प्रतिवेदनले पनि आगामी ५० वर्षमा तापमानमा एक दशमलव पाँच प्रतिशतले वृद्धि हुँदा पनि पाँच प्रतिशत भौतिक पूर्वाधारका संरचना नष्ट हुने जनाएको छ। यसबाट जलवायु परिवर्तनको भयावह स्वरूपको अनुमान निकै त्रासदीपूर्ण हुने देखिन्छ। अझ भौतिक पूर्वाधारका संरचनामा पर्ने प्रभाव नेपालका लागि सबैभन्दा ठूलो क्षतिका रूपमा रहने तथ्याङ्क हाम्रा लागि निकै विषम परिस्थिति हो। जलवायु परिवर्तनका कारण विभिन्न रोगको आक्रमण, बसाइँसराइ आदिका प्रभावस्वरूप जनस्वास्थ्यमा पर्ने असरले गर्दा श्रम उत्पादकत्वका क्षेत्रमा पनि प्रतिकूल प्रभाव पर्ने आशङ्काको विश्व
बैङ्कको प्रतिवेदनको रहेको छ। यसले गर्दा पारिवारिक आय एवं समग्रमा अर्थतन्त्र प्रभावित हुने अवस्था देखिन्छ।
विश्वव्यापी चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनको कारण खोज्नुपर्ने हुन्छ। परिवर्तनका कारण नियन्त्रण वाञ्छनीय छ। जलवायु परिवर्तनको प्रतिकूल असरमा न्यूनीकरण नै अबको कार्यसूची हुनुपर्छ। राज्यका नीति, योजना र कार्यक्रम अब त्यतातिर अग्रसर हुनुपर्छ। यस सन्दर्भमा बैङ्कले दिएको सुझाव मननीय छ। विश्व बैङ्कका सुझावअनुसार वित्तीय व्यवस्थापन, व्यापार सहजीकरण, बाह्य क्षेत्र सुधार, वैदेशिक लगानी आकर्षणजस्ता उपाय अपनाउनु जरुरी छ। यिनले नेपाली अर्थतन्त्रमा जलवायु परिवर्तनजन्य असर कम गर्न सकिने तर्फ पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनु जरुरी छ।
विश्व बैङ्कको प्रतिवेदनले औँल्याएको महत्वपूर्ण विषय नेपालको जलविद्युत्को सम्भावना हो। यो अति महत्वपूर्ण छ। बैङ्कले जलविद्युत् उत्पादनलाई बढावा दिएर त्यसको खपत सकेसम्म स्वदेशमै गरेर नेपाली अर्थतन्त्रलाई बहुआयामिक सुुधार गर्न सहायकसिद्ध हुने तथ्य औँल्याएको छ। स्वदेशभित्रै विद्युतीय ऊर्जाको प्रयोगले लगानी, उत्पादन, आय र रोजगारीमा सकारात्मक प्रभाव पर्नेछ। नेपाली अर्थतन्त्रलाई बढी भएको जलविद्युत्लाई छिमेकी राष्ट्र भारत, बङ्गलादेश, भुटान, नेपाल ( बीबीआईएन ) सञ्जालको व्यापार मेरुदण्डका रूपमा औँल्याउनु पनि हाम्रा लागि सुखद विषय हो। यो विषयलाई कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले उपयुक्त रणनीति तथा गृहकार्य सुरु गरिहाल्नु मुलुकको अर्थतन्त्रका लागि लाभदायक हुनसक्छ। जलवायु परिवर्तनको विषयलाई आर्थिकलगायत मानव जीवनका सबै पक्षसँग लेखाजोखा गरिँदा जलवायु परिवर्तनका कारक विषयहरूको नियन्त्रणमा नै ध्यान दिनु श्रेयष्कर हुन्छ। यसबाट समस्त विश्व तथा मानव सभ्यतामा नै सकारात्मक प्रभाव पर्नेछ। साथै यसबाट उत्पन्न विषमतालाई एकजुट भएर समाधान गर्नु पनि त्यत्तिकै आवश्यक छ।