• १६ भदौ २०८१, आइतबार

ग्रामीण क्षेत्रमा भीर महको सिजन सुरु

blog

लमजुङको मर्स्याङ्दी गाउँपालिका –२ उपल्लो घनपोखराको थाम्रो भीरमा मह काढ्दै स्थानीय । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, कात्तिक १५ गते । लमजुङको ग्रामीण भेगमा भीर महको सिजन सुरु भएको छ । विशेषत पर्यटकीय गाउँमा भीर मह काढ्ने गरिन्छ । गाउँपिच्छे फरक फरक भीरमा मह काढ्ने चलन छ । 

सामुदायिक रुपमा भीर मह काढ्ने परम्परा छ । गाउँले मिलेर भीर मह आपसमा बाँड्ने गरिन्छ । मर्स्याङ्दी गाउँपालिका –२ उपल्लो घनपोखराको थाम्रो भीरमा मह काढ्ने तयारी गरिएको छ । यस काममा युवा सक्रिय छन् । 

बर्सेनि भीरमा मह काढ्दै आएको र यस वर्ष पनि मह काढ्ने स्थानीय भक्तबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँबाट करिब एक घण्टामा पुग्न सकिने भीरमा झुण्डिएर मह काढिन्छ । सो भीर उपल्लो घनपोखराको आफ्नै मह भीर हो । करिव ७० घर रहेको गाउँका स्थानीय मिलेर मह काढ्ने गरेको बताउनुभयो । 

महका लागि मुख्य नाइके काशिप्रसाद गुरुङ र अन्य युवा खट्ने गरेका छन् । यसबर्ष कात्तिक ३० गतेबाट मह काढने योजना रहेको भक्तबहादुर गुरुङले बताउनुभयो । मह शिकारका लागि काशिप्रसादसँगै भक्तबहादुर गुरुङ, बुद्धिबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र ३० वर्षीय नन्दलाल गुरुङ खट्ने उहाँहरुको योजना छ ।  

भक्तबहादुरले १३ वर्षदेखि मह काढ्दै आएको बताउनुभयो । ‘गुरुङहरुले परापूर्वकालदेखि गर्दै आइरहेको पेशा हो । ‘अरु ठाउँमा हराउँदै गए पनि घनपोखरामा भने अझै जीवितै राखेका छौं’ उहाँले भन्नुभयो, ‘आफ्न जिजुबाजेले गरेको कामलाई जोगाई राख्न र आन्तरिक तथा वैदेशिक पर्यटकलाई भित्र्याउने उद्देश्यले हामी युवाहरु मह काढेर यो पेशाको संरक्षणमा लागेका छौं ।’

अर्का युवा नन्दलाल गुरुङले आठ वर्षदेखि मह काढ्दैआएको बताउनुभयो । मह काढ्ने  परम्परा रहेकाले यसको संरक्षणका लागि लागिपरेको उहाँले बताउनुभयो । हराउँदै गएको परम्पराको संरक्षणका लागि युवा एकजुट भएको उहाँको भनाइ छ । भीर मौरीको मह हरेक वर्ष दुई सिजन कात्तिक, मङ्सिर र वैशाख जेठमा हुनेगरेको उहाँहरुको भनाइ छ । 

छङ्गाछुर भीरमा निगालोको चोयाबाट निर्मित काठ राखेर बनाइएको डोरी (प्रों) मा झुण्डिएर मह काढिन्छ गुरुङले भन्नुभयो । ज्यानको बाजी राखेर परम्परागत तवरबाट मह काढ्ने गरिएको उहाँले बताउनुभयो ।