• २३ साउन २०८२, शुक्रबार

चीनमा बाढीका कारण १० को मृत्यु, ३३ जना बेपत्ता

blog

बेइजिङ, साउन २३ गते । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । “गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ । अचानक बाढी आएको छ । अगष्ट ८ का दिन अपराह्न ३:३० बजेसम्ममा बर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना वेपत्ता भइरहेका छन्,” सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका लागि ‘सक्दो प्रयास’ गर्न आदेश दिएको सीसीटीभीले जनाएको छ । ‘चरम मौसमको कारण बारम्बार दोहोरिने’ घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति सि चिनफिङले सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अपनाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन आदेश दिनुभएको छ । 

वेइबोमा चिनियाँ अग्नि नियन्त्रक अधिकारीहरूले साझा गरेको फुटेजमा उद्धारकर्ताहरूले एउटा गाउँमा धमिलो पानीको बहावमा मानिसहरूलाई डोर्याइरहेको देखाइएको छ । गान्सुको सरकारले पोस्ट गरेको फोटोहरूमा सडकहरू बाढीले थुपारेको हिलो माटो रठूला ठूला ढुङ्गाहरूले ढाकिएको देखिन्छ । चीनमा बिशेष गरी बर्षा याममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठूलो धनजनको क्षति हुनेगरेको छ । 

उत्तरी बेइजिङमा गत महिना भएको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको थियो । चीन हरितगृह ग्याँसको विश्वको सबैभन्दा ठूलो उत्सर्जक हो जसले जलवायु परिवर्तनलाई बढावा दिन्छ र चरम मौसमलाई अधिक बारम्बार र तीव्र बनाउन योगदान पुर्याउँछ । चीन विश्वव्यापी नवीकरणीय ऊर्जाका लागि पनि ‘पावरहाउस’ मानिन्छ । चीनले आफ्नो विशाल अर्थव्यवस्थालाई सन् २०६० सम्ममा कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ । रासस/एएफपी