• १६ भदौ २०८१, आइतबार

म्याग्दीका उम्मेदवार श्रेष्ठ र गर्बुजालाई २४ घण्टे स्पष्टीकरण माग

blog

म्याग्दी, कात्तिक १५ गते । मतदातालाई प्रभावित पार्ने गरी निर्वाचन आचारसंहिता विरुद्धका गतिविधि गरेको भन्दै म्याग्दीका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा  सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेश निर्वाचन क्षेत्र क का उम्मेदवार यामबहादुर गर्बुजालाई निर्वाचन आचारसंहिता विरुद्धका गतिविधि गरेको भन्ने उजुरीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण माग गरेको हो । उनीहरूले मतदातालाई प्रभावित पार्न चामल बाँडेको र युवा क्लबलाई चन्दा दिएको उजुरी परेको कार्यालयले जनाएको छ । 

नेपाली काँग्रेसका जिल्ला उपसभापति केवी भण्डारीले श्रेष्ठ र गर्वुजाविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी दिएका दिनुभएको थियो । एमाले उम्मेदवारले मालिका गाउँपालिका ३ रुममा चामल वितरण गरेको र धवलागिरि गाउँपालिका ४ खिवाङको जनसुधार युवा क्लबलाई १० हजार चन्दा दिएको उजुरीमा उल्लेख गरिएको छ । उजुरीपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले आरोपित उम्मेदवारलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

मतदाता प्रभावित बनाउन चामल र रकम बाँडेको उजुरी परेकाले आरोपितसँग स्पष्टीकरण सोध्ने निर्णय भएको  आचारसंहिता अनुगमन समितिका अध्यक्षसमेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख रामभक्त रानाभाटले बताउनुभयो । 

तिहारअघि रुमका विभिन्न बस्तीमा एमाले नेतृ खरमाया बिटालुले खाद्यान्न सहयोग भन्दै १८ बोरा चामल पठाएकोमा स्थानीयले १० बोरा आफूले राखी बाँकी ८ बोरा फिर्ता पठाएको भन्ने बिटालु र स्थानीयबिचको मोबाइल फोन संवादसमेत सार्वजनिक भएको थियो । यता नेकपा एमालेले भने विपक्षीहरूले लगाएको आरोपको सत्यता नभएको दाबी गरेको छ ।

Author

ठाकुरप्रसाद आचार्य