• ८ मंसिर २०८१, शनिबार

सियोल भागदौडमा १५१ जनाको मृत्यु : प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

blog

साङ्केतिक तस्बिर

काठमाडौँ, कात्तिक १४ गते । दक्षिण कोरियाको राजधानी सियोलमा शनिबार राति भएको भागदौडका क्रममा १५१ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नेपाली नागरिक नपरेको जानकारी प्राप्त भएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासले शनिबार रातिको भागदौडका कारण भएको दुर्घटनामा अन्य देशका आप्रवासी श्रमिक परे पनि नेपाली नागरिक नपरेको जनाएको हो ।

दूतावासका अनुसार शनिबार राति १५१ जना नागरिकको मृत्यु भएकोमा २० जना विदेशी श्रमिक परेका छन् तर नेपाली भने त्यो घटनामा परेका छैनन् । सोही क्रममा ८२ जना घाइते भएकोमा पाँच जना विदेशी श्रमिक छन् ।

दूतावासका श्रम काउन्सिलर रमा भट्टराईले दुर्घटना भएको स्थान पर्यटकीय क्षेत्र भएको र नेपालीको कार्यस्थल नभएकाले पनि नेपाली श्रमिक त्यहाँ पर्ने सम्भावना नरहेको जानकारी दिनुभयो । घटना भएको ठाउँ डान्स बार र क्लब भएकाले घटनामा कोरियाकै अधिकांश २०/२१ वर्ष उमेर समूहका युवा परेको र केही युरोपेली र अमेरिकी युवा परेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मित्रराष्ट्र दक्षिण कोरियामा भएको भागदौडमा परी धेरै मानिसको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सिओलमा हलोइन नामक उत्सव मनाउन भेला भएका मानिसको भीडमा एक्कासि भागदौड मच्चिँदा उनीहरूको ज्यान गएको हो ।

त्यस्तै थप ८२ जना घाइते भएका छन् । सो घटनाको समाचार सुन्दा गहिरो दुःख लागेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले ट्विटरमार्फत दुःख व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “हामी दक्षिण कोरियाली सरकार, त्यहाँका जनता र घटनामा परेका व्यक्तिका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ, साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”