• १३ साउन २०८१, आइतबार

उपत्यकासहित तराईंमा छठ पूजा (फोटो फिचर)

blog

विराटनगरस्थित सिङघिया खोलामा छठ पर्वको अवसरमा आइतबार साँझ सूर्यलाई अर्घ्य दिँदै भक्तजन । तस्बिर : सागर बस्नेत

काठमाडौं, कात्तिक १३ गते । काठमाडौं उपत्यकासहित तराईंका सबै जिल्लामा छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आइतबार  बर्तालु निराहार व्रत गरिरहेका छन् ।  साँझ नै बर्तालुले  पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका छन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ । 

बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय-खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् । त्यसैगरी  शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि  छठ पर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

सजिएकाे काठमाडौं कमलपोखरी । तस्बिर : मनोजरत्न शाही

यसअघि गत शुक्रबार पवित्र स्नान गरी व्रत सङ्कल्प गर्दै उसिना चामल, माछा-मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबाअर्बाइन’ र ‘नहाय-खाय’ एवं हिजो शनिबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो (सख्खरमा पकाइएको खीरमात्र खाएर) ‘खरना’ विधि सम्पन्न गरेका थिए ।



केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै  बनिसकेको छ । अब मुलुकको राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ गरिन थालिएको छ । केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्रप्रमुख (राष्ट्रपति) नै  छठ घाटमा पुग्न थालेपछि यसको महत्त्व अझ बढेको छ । पाहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडबाड साझा बन्दै गएका छन् । काठमाडौं उपत्यका र तराईं जिल्लामा आइतबार देखिएको छठको रमझम : 


छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन । तस्बिर : जानु पाण्डे


दुलही जस्तै सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरी परिसर । तस्बिर : दिपकप्रसाद गौतम


झापाको दमकमा रहेको रतुवा खोलाको किनारमा तयार गरिएको छठ पुजास्थल । तस्बिर : विष्णुप्रसाद पोखरेल


नारायणी नदीमा अस्ताउदो सूर्यको पुजा गरेर छट मनाउदै भक्तजन  । तस्बिर : वसन्त पराजुली 


जनकपुरधाममा छठ पूजामा सहभागी एक महिला । तस्बिर : लक्ष्मी


महोत्तरीको बर्दिवासस्थित एक सरोवरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठका ब्रतालु । तस्बिर : रवीन्द्र उप्रेती  


विराटनगरस्थित सिङघिया खोलामा छठ पूजाका लागि नुहाउँदै एक महिला । तस्बिर : सागर बस्नेत


सप्तरीको टिलाठी कोइलाडी गाउँपालिकाको कोइलाडी गाउँमा नजिकैको तलाउँमा पुगेर पूजा गर्दै ब्रतालु । तस्बिर : ध्रुब सिंह