सियोल, कात्तिक १३ गते । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।
इसाई धर्माबलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागी मानिसहरू राजधानीको प्रसिद्ध इटावोन जिल्लामा भागदौड हुँदा शनिबार उत्सवमा सहभागी राति एक लाखभन्दा बढी मानिस त्यस क्षेत्रका साँघुरा गल्ली र घुमाउरो सडकहरूमा थुनिएपछि उक्त अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।
घटनाप्रति दुःख व्यक्ति गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आइतबार राष्ट्रिय शोकको घोषणा गर्दै टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भन्नुभयो, “एउटा त्रासदी र विपत्ति आयो जुन हुनु हुँदैनथ्यो ।”
उहाँले भन्नुभयो, “सरकारले घटनाको विस्तृत अनुसन्धान गर्नेछ र भविष्यमा फेरि यस्तै दुर्घटना नहोस् भनी आवश्यक सुधार गर्नेछ तथा सावधानी अपनाउनेछ ।”
“दुर्घटनास्थलको भ्रमण गर्नुअघि र उद्धारकर्मीहरूसँग कुरा गर्नुअघि सञ्चारकर्मीसँग बोल्दै राष्ट्रपति योलले भन्नुभयो, “घटनापछि मेरो हृदय भारी बनेको छ र पीडा नियन्त्रण गर्न गाह्रो भएको छ ।”
प्रत्यक्षदर्शीहरूले साँघुरो, ढलान भएको गल्लीमा फसेका मानिसहरू एकअर्कामाथि ढलेका र घुँडा टेकी उठ्ने र भीडबाट बाहिर निस्कन कोसिस प्रयास गर्दागर्दै भीडले कुल्चेर जीवन त्याग्न बाध्य भएका बताएका छन् ।
स्थानीय समयानुसार राति १० बजे भएको भागदौडमा परी १९ विदेशीसहित कम्तीमा १५१ जनाको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।
मृत्यु हुनेमा अधिकांश २० वर्षभन्दा कम उमेरका युवती रहेको र ८९ जना घाइते भएको बताइएको छ । गृह मन्त्रालयले मृतकमध्ये अधिकांशको पहिचान भइसकेको जनाएको छ ।
“हेलोवीन घटनाका क्रममा धेरैलाई कुल्चिएका कारण हताहत हुनेको सङ्ख्या धेरै हुनगएको छ,” अग्नि नियन्त्रक चोइ सियोङ–बिओमले घटनास्थलमा रहेका पत्रकारहरूलाई बताउनुभयो । घटनामा कैयौँ व्यक्ति सख्त घाइते भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।
सियोलका अधिकारीहरूले आइतबार बिहानसम्म ३५५ जना हराइरहेका अपुष्ट रिपोर्ट प्राप्त भएको जनाएका छन् । रासस/एएफपी