• ७ पुस २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुद : उच्चमनोबल र चुस्त व्यवस्थापनले राम्रो नतिजा दियो – सेना

blog

काठमाडौं, कात्तिक ८ गते । नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले  पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘च्याम्पियन’को उपाधिमासमेत ह्याट्रिकको रेकर्ड बनाउन सफल भएको हो । यसअघि सातौँ र आठौँ संस्करणमा पनि सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ घोषित भएको थियो ।

प्रभावकारी तालिम, प्रशिक्षण, तयारी र व्यवस्थापन गर्दै उच्च मनोबलसाथ प्रतिस्पर्धामा उत्रिएका कारण खेलाडीले अनुमान गरेभन्दा  राम्रो नतिजा दिलाउन सफल भएको नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य पदक जितेको हो ।

सर्वाधिक पदक जितेर सेनाले रु १० लाखको लागतमा प्रतियोगिताका लागि पहिलो पटक तयार गरिएको ‘राष्ट्रिय ट्रफ्री’ चुम्ने अवसर प्राप्त गर्‍यो । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ कांस्य पदक हात पारेको थियो ।

बाह्रैमहिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन, सुविधा र प्रशिक्षणसहितको तयारीका कारण एथ्लेक्टिस, पौडीसहितका विधामा नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै सेनाले पूर्वानुमानभन्दा बढी पदक जित्न सफल भएको छ । प्रतियोगिता चलिरहँदा सेनाका विभिन्न विधाका १५ जना खेलाडीमा डेंङ्गु सङ्क्रमण भएका कारण सेनाले आङ्कलन गरेका केही पदक भने गुमाउन परेको थियो ।

तथापि सेनाले सबै  टिमलाई पछि पार्दै आफ्नो पुरानो च्याम्पियनको छवि र वर्चस्व कायम राख्न  सफल भएको छ । महासेनानी बस्नेत भन्नुहुन्छ, “प्रतिस्पर्धा र रेकर्ड राम्रो भयो, सबै विधाका खेलाडीको तयारी र व्यवस्थापन राम्रो थियो, एथ्लेक्टिस र पौडीमा धेरै रेकर्ड ब्रेक भएको छ । सोचेको भन्दा निकै राम्रो नतिजा प्राप्त गरियो, खेलाडीको उच्च मनोबल र चुस्त व्यवस्थापनले यो परिणाम हात परेको हो ।”

सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा बढाउन सामूहिकभन्दा व्यक्तिगत खेल विधालाई बढी ध्यान केन्द्रित गर्ने रणनीति बनाएको देखिन्थ्यो ।

मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरीय खेलाडी उत्पादनमा प्रभावकारी साबित भयो । पछिल्लो समय खेलकुदका विकासका लागि प्रादेशिक र स्थानीय तहमासमेत विभिन्न संरचना र कार्यक्रम विकास र विस्तार हुँदै गएको छ । सेनाले टिमलाई जिताउन मात्र केन्द्रित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र तयार गर्नसमेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्रतियोगितामा सेनाले फुटबल, एथ्लेक्टिस, बक्सिङ, तेक्वान्दो, कराँते, भारोत्तोलन, भलिबल, टेवलटेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्यान्डबल र स्क्वासमा प्रतिस्पर्धा गर्‍यो । नियमित अभ्यास र प्रशिक्षण गर्न प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सेनाको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ ।

यस पटकको प्रतियोगितामा एपीएफ दुई सय १९, नेपाल प्रहरी एक सय ८५, आयोजक गण्डकी प्रदेश एक सय २०, बागमती प्रदेश एक सय ४५, प्रदेश नम्बर १ ले ८३, सुदूरपश्चिम प्रदेश ६३, एनआएएनए २६, लुम्बिनी प्रदेश ६८, मधेश प्रदेश ३९ र कर्णाली प्रदेशले १८ पदक जित्न सफल भएको छ ।

त्रिभुवन आर्मी क्लबका खेलाडीले हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफटटेनिस र रग्बीमा अन्य टिमका खेलाडीसँग प्रतिस्पर्धा गरी नतिजा आफ्नो पोल्टामा राख्न सफल भएका हुन् ।