• १४ असार २०८१, शुक्रबार

नेपालभाषाका सात भित्तेपात्रोले लिए पञ्चाङ्ग निर्णायक समितिसँग स्वीकृति

blog

काठमाडौं, कात्तिक ७ गते । नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सात वटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ । यस वर्ष कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत्को नयाँ वर्ष ११४३ सुरु हुँदैछ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते पञ्चाङ्ग निर्णायक समितिको गठन आदेश स्वीकृत गरेको थियो ।

गठन आदेशअनुसार नेपालबाट प्रकाशन हुने पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) ले प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ । समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रो अध्ययन गरी कारबाही गर्न अनुगमन उपसमिति पनि  गठन गरिएको छ ।

नेपालका सबै जातजातिको नयाँ वर्षमा निस्कने पात्रो एवं भित्तेपात्रोले समितिसँग स्वीकृति नलिए कारबाहीका लागि सिफारिस गर्ने गरी तयारी गरिएको उपसमितिका सदस्यसमेत रहनुभएका समितिका कर्मचारी खिलहरि घिमिरेले राससलाई जानकारी दिनुभयो ।

नेपालभाषाको भित्तेपात्रोका लागि नेवा: देय् दबु चन्द्रागिरि नगरपालिका–१२, बलम्बु, ललितपुर महानगरपालिका–२८ र २९ कार्यालय, हरिसिद्धि, हलिं नेवाः गुठी, मूज्याकु थक्वाः, इमाद्वों नेवाः दबु, महालक्ष्मी नगरपालिका–१, नेपाली कांग्रेस भक्तपुर नगर समिति, ज्यापू समाज यल, ललितपुर, श्रीकृष्ण सिर्जनशील नेवाः खलः, खैरेनीटार, तनहुँले स्वीकृति लिएको उहाँले बताउनुभयो ।

भित्तेपात्रो प्रकाशन गर्न सातै संस्थाले रु पाँच हजारको रसिद काटेर स्वीकृति लिएका हुन् । स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले मस्यौदाका रूपमा बनाएका कार्यविधि हाल स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

मन्त्रालयको सुझाव प्राप्त भएपछि कार्यविधिलाई अन्तिम रूप दिई कार्यान्वयनमा ल्याइने जनाइएको छ । कार्यविधि स्वीकृति भएपछि स्वीकृति नलिने सबै पात्रो र भित्तोपात्रोका प्रकाशक कारबाहीमा पर्ने भएका छन् । पात्रो र भित्तेपात्रोमा फरक फरक तिथि, मिति, साइतलगायत विषयवस्तु उल्लेख गरिएको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । तिथि, मिति फरक पर्दा चाडपर्वका नाउमा एकरूपता नभई समस्या आउने गरेको थियो ।