• १३ साउन २०८१, आइतबार

तीन वर्षमा पनि बनेन झोलुङ्गे पुल

blog

फाइल तस्बिर ।

सहजपुर, कात्तिक ६ गते । सम्झौताको तीन वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका–९, सेहरीको झोलुङ्गे पुल सम्पन्न हुनसकेको छैन । वडाको राजीफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिलर निर्माणबाहेक अरू काम हुनसकेको छैन । 

वडा कार्यालयमा सेवा लिन आउने वडावासीले वडा नं. ८ भएर आउनुपर्ने बाध्यता अन्त्य गर्न निर्माण थालिएको उक्त पुलको दुवैतर्फका पिलर बनाउने काम मात्रै भएका छन् । पूर्ववडाध्यक्ष लहानु चौधरीले बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न पुल निर्माण सुरु गरिएको बताउनुभयो । 

उहाँले बल्मी र राजीफाँटावासीलाई वडा नं. ८ स्याउले बजार घुमेर वडा कार्यालय जानुपर्ने बाध्यता अन्त्य गर्न पुल निर्माणका लागि माग गरिएकामा सोअनुसार काम सुरु भए पनि ढिलाइ भएको बताउनुभयो । 

वडाध्यक्ष चौधरीले भन्नुभयो, “सुरुवाती चरणमा तीव्र गतिमा काम भएको थियो तर पछि काम रोकियो, सामग्री अभाव भएको भन्ने बुझ्नमा आएको छ ।”

स्थानीयवासी ठग्गुराम चौधरीले पुल छिटो निर्माण हुनुपर्नेमा ठेकेदारको लापरबाहीका कारण ढिलाइ भइरहेको गुनासो गर्नुभयो  । 

उहाँले भन्नुभयो, “पारिपट्टि वडाकै दुईवटा टोल छन्, उनीहरूको आवतजावतमा सहजताका लागि पुल बनाइएको हो ।”

सोही वडाका कमल पुल रानाले पनि पुल बनेको भए खुटिया नदी पारिपट्टिका राजीफाँटा र बल्मीमा तरकारी बेचबिखन गर्न जान सहज हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “खोलामा बाढी आउँदा तरकारी बेच्न सकिँदैन । बर्सात्को समयमा बारीमा फलेको तरकारी कुहिने डरले सताउने गर्छ । सेहरीबाट स्याउले बजार आउने बाटो भए पनि साधन नहुँदा बजारसम्म तरकारी पुर्याउन समस्या हुन्छ ।” 

राजीफाँटाका गोविन्द नेपालीले भन्नुभयो, “तर अहिले पुल नहुँदा छ किलोमिटर घुमेर हामीले स्याउले बजारबाट वडा कार्यालय जानुपर्ने बाध्यता छ ।” 

वडा नं. ९ का अध्यक्ष रामलाल रानाले आफू निर्वाचित हुनेबित्तिकै पुलको यथाशक्य निर्माणका लागि ठेकेदारलाई निर्देशन दिएको बताउनुभयो । 

उहाँले ठेकेदारले झोलुङ्गे पुलका लागि लट्ठा अभाव भएकाले त्यसको जोहो गरेर निर्माण सुरु गर्ने जनाएको जानकारी दिनुभयो  ।

वडाध्यक्ष रानाले भन्नुभयो, “ठेकेदारले छ महिना समय थप भएको र लट्ठा अभाव भएकाले विराटनगरबाट लट्ठा ल्याइरहेकाले मङ्सिरभित्र पुल निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।” २७९ मिटरको उक्त पुल २०७८ जेठ ५ गतेभित्र सम्पन्न गरिसक्ने सम्झौता छ । दुई करोड ७० लाख सात हजार रुपियाँको लागतमा ठेक्का सम्झौता भएको छ । कोभिडको महामारी र पुलका लागि आवश्यक सामग्रीको अभावका कारण पुल निर्माणमा ढिलाइ भएको उक्त कम्पनीका ठेकेदार अर्जुन तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले म्याद थप भएकाले लट्ठा बाँध्ने तथा फलामको पिलर बनाउने काम मात्रै बाँकी रहेकाले अब मङ्सिरसम्म काम सकिन्छ ।”

सम्झौताअनुसारको समयावधि सकिएर कार्यालयले थप गरेको समयमा १६ महिना गइसके पनि निर्माण कम्पनीले लट्ठा ल्याएर फाल्नेबाहेक अरू काम गर्नसकेको छैन । ५८ प्रतिशतभन्दा बढी रकम पाइसकेको निर्माण कम्पनीले थप भएको समयको हालसम्म काम सुरु नगर्दा पनि सम्बन्धित निकाय भने मौन छ । उक्त कार्यालयका सबइन्जिनियर विनोद खड्काले निश्चित समयावधिमै निर्माण सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले झोलुङ्गे पुलका लागि लट्ठा अभाव भएको जनाएको बताउनुभयो । 

उक्त झोलुङ्गे पुलजस्तै उक्त निर्माण कम्पनीले कैलालीकै कान्द्रा, खोनपुर र ट्याना नदीमाथि झोलुङ्गे पुल निर्माण गर्न सोही कम्पनीसँग सम्झौता गरेको कार्यालयका सबइन्जिनियर खड्काले बताउनुभयो । ती सबै झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न भएको छैन । 

झोलुङ्गे पुलका लागि बनाइएको पिलर नजिकसम्म खुटिया खोलाले कटानी गरिसकेको छ । कटान गरिएको ठाउँमा तटबन्ध नगरिए पुल बन्नुभन्दाअघि नै खोलाले लैजान सक्ने सम्भावना उत्तिकै छ । पुलभन्दा अगाडि खोलाको क्षेत्रमा बलियो तटबन्ध गरे मात्रै पुललाई जोगाउन सकिने अवस्था छ । हिउँदको समयमा खोलामा खासै पानी नभए पनि वर्षायाममा आउने बाढीले पुललाई जोखिममा पार्न सक्ने स्थानीयवासीको गुनासो छ ।