• १३ साउन २०८१, आइतबार

पाला बनाउन भ्याइनभ्याइ

blog

मीना कँडेल

कावासोती, कात्तिक ६ गते । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न लाग्दा लक्ष्मण प्रजापति भने आफ्नो चक्कालाई छोड्ने तरखरमा हुनुहुन्न। उहाँ अझै प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ।

तिहार नजिकिएसँगै प्रजापती समुदायलाई माटोको पाला बनाउन भ्याइनभ्याई भएको छ। यहाँका प्रजापती समुदाय यतिबेला लक्ष्मणजस्तै चक्काकै अगाडि आफ्नो समय व्यतित गर्छन्। माटाका भाँडा बनाउनेहरू विशेष गरी तिहार आउँदा बत्ती बाल्न प्रयोग गरिने पाला बनाउनमै आफ्नो समय व्यतित गर्ने गर्छन्। पूर्वीनवलपरासीको कावासोती–३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसक्नुभएको छ। तिहारमा पालाको माग बढ्न भएकाले करिब तीन महिना अघिदेखि नै पाला बनाउन सुरु गरेको उहाँ बताउनुहुन्छ। तिहारसम्ममा ५० हजार पाला बिक्री गर्ने लक्ष्य उहाँको छ। 

बावु–बाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उहाँको भनाइ छ। पुर्खाको पेसालाई धान्दै प्रजापतिले विगत २५ वर्षदेखि व्यावसायिक रूपमा नै माटोका सामान बनाउँदै आउनुभएको हो। चीनबाट प्लास्टिकका र बत्तीबाट जल्ने दियोको आकृतिका सामग्री बनाइदिएपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको गुनासो उहाँको छ।’ यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्ज्वलित गर्ने चलन छ। 

पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट चल्ने झिलिमिली बत्तीको प्रचलन बढ्दो छ। जिल्लामा माटोका सामग्री बनाउने तीन जना मात्रै हुनुहुन्छ। 

पाला, गमलालगातयका माटोबाट बन्ने विभिन्न सामान बनाउन आवश्यक माटो सहज उपलब्ध हुन नसक्दा समस्या हुने गरेको उहाँहरूको भनाइ छ। यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्किवाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ।