• १३ साउन २०८१, आइतबार

फूलमा स्वनिर्भरको प्रयास

blog

नेपालीको दोस्रो महान् चाड तिहार हाम्रा घरआँगनमा भित्रिइसकेको छ। तिहारका पाँच दिनलाई प्रकृति र मानवबीचको अन्तरसम्बन्ध उजागर गर्ने पर्वका रूपमा पनि लिइन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना यो पर्वको खास विशेषता हो। दिदी–भाइको अटुट प्रेमको चाडका रूपमा यसको नेपाली समाजमा निकै महत्वपूर्ण स्थान छ। मानव जीवन उपयोगी पशुपन्छी काग, कुकुर, गाई, गोरुका साथै प्रकृत्तिप्रदत्त गोवद्र्धन पर्वत (डाँडाकाँडा)प्रति कृतज्ञताको अवसर पनि हो– तिहार। तिहारलाई रङ्गीचङ्गी चाडका रूपमा लिने गरिन्छ। अझ झिलिमिली बत्ती, विभिन्न आकार, प्रकार र रङका फूलको पर्याय पनि हो– तिहार। थरिथरिका फूलबिना तिहारको कल्पना पनि गर्न सकिँदैन। तिहारका पाँच दिनमा पूजाआजा गर्न वा तिहारको मुख्य दिन भाइटीकाका दिनमा फूलका मालाको विशेष महत्व हुन्छ। 

तिहारमा विभिन्न थरिका फूलमा पनि सयपत्री वा थुँगे फूलको आफ्नै विशिष्ट खालको पहिचान एवं महत्व हुन्छ। लक्ष्मी पूजा गर्न, घर सिँगार्न तथा भाइटीकामा लगाइदिन सयपत्री फूलको अनिवार्य सांस्कृतिक तथा धार्मिक मान्यता रहेको छ। तिहारका पाँच दिनमा मात्र सयपत्री, मखमली, गोदावरी फूल तथा मालाको व्यापार १५ करोड रुपियाँभन्दा बढी हुने तथ्यबाटसमेत तिहार र फूलको अन्तरसम्बन्ध स्पष्ट छ। हालका वर्षमा नेपाल विभिन्न थरिका फूल उत्पादनमा आत्मनिर्भर रहेको पाइन्छ। तिहारमा तुलनात्मक रूपमा बढी खपत हुने हुनाले सयपत्रीजस्ता फूल र यस्ता फूलका माला भने केही मात्रामा आयात हुनु स्वाभाविकै मान्न सकिन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आँकडालाई केलाउँदा तिहारमा सयपत्री फूलको स्वदेशी उत्पादनले ९० प्रतिशत र बाँकी अपुग १० प्रतिशत भारतबाट झिकाइने गरिन्छ। यस वर्ष तिहारमा साढे २४ लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ। यसको अर्थ सयपत्री फूलका अढाईदेखि तीन लाखजति माला आयात गर्नुपर्ने अवस्था छ। 

फूल उत्पादनमा मुलुक स्वनिर्भर भइसके पनि तिहारमा बढी खपत हुनाका कारण केही मात्रामा सयपत्री फूलका माला आयात गर्नुपर्ने अवस्था रहेको छ। यस सन्दर्भमा तिहारका लागि थप आवश्यक पर्ने सयपत्री फूलका मालासमेत आयात भइसकेको अवस्था छ तर केही पुष्प व्यापारी बढी नाफाको लोभमा तिहारका लागि अझै पनि सयपत्री फूलका माला अस्वाभाविक तवरले आयात गर्न लागिपरेका कारण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको छ। फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको प्रस्ताव तथा मागमा चालिएको मन्त्रालयको यो कदम स्वदेशी सयपत्री फूलका मालाको बजार सुनिश्चितता तथा उचित बजार भाउ पाउने दिशामा परिलक्षित रहेको मान्न सकिन्छ। 

स्वदेशमा कुनै चिज वस्तु वा कृषि उपजको पर्याप्त उत्पादन हुँदासम्म स्वदेशी उत्पादनलाई बढावा दिनुको कुनै विकल्प तथा राष्ट्रिय स्वार्थ हुनु हुँदैन। यस दिशामा कृषि मन्त्रालयको यो कदम सही तथा वस्तुनिष्ठ मान्न सकिन्छ। नेपाली किसान मलखाद, बीउबिजन तथा सिँचाइको पर्याप्त सुविधा नहुँदा नहुँदै पनि आफ्नो कृषि कर्ममा निरन्तर लागिपरिरहेका हुन्छन् र उनीहरूलाई परिश्रमको लगानी फिर्ता पाउन पनि कठिन परिरहेको अवस्था हुन्छ। स्वदेशी कृषकको हरेक तरहले संरक्षण गर्नु सरकार तथा देशवासीको कर्तव्य हो। भारतीय सयपत्री फूलका मालाका दाँजोमा नेपाली सयपत्री फूलका मालाको बनावटदेखि हरेक कुरामा नेपाली मौलिकता झल्किन्छ। सरकारी संरक्षणका अभावमा यहाँका कृषि उपज तुलनात्मक रूपमा केही महँगा हुन्छन्। यस अवस्थामा भारतीय फूलका माला अस्वाभाविक तवरले आयात हुँदा नेपाली फूलका मालाका बजार मूल्यमा प्रतिकूल प्रभाव पर्दछ नै। भारतीय फूललगायत कृषि उपजलाई त्यहाँको सरकारले संरक्षण तथा सहुलियत प्रदान गरेका कारण त्यहाँका फूल तथा कृषि उपजको तुलनात्मक रूपमा बजार भाउ कम हुन्छ। यसर्थ भारतीय सयपत्री फूलका माला आयात प्रतिबन्धलाई जायज मान्न सकिने अवस्था छ। 

सरकारले स्वदेशी कृषकलाई सयपत्रीलगायतका फूलका निम्ति आवश्यक मल, बीउबिजन, सिँचाइ तथा कृषि उपकरणमा सहुलियत प्रदान गरेर स्वदेशी उत्पादनलाई बजारमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गरिदिन सघाउन अति महत्वपूर्ण देखिन्छ। यस प्रकारको अवस्था सिर्जना गर्न सकिएमा स्वदेशी उपभोक्ताका लागि बजार मूल्यको दृष्टिकोणमा पनि स्वदेशी उत्पादन नै ग्राह्य हुनेमा शङ्का छैन।