• १३ साउन २०८१, आइतबार

सप्तरी ४ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा

blog

देवराम प्रसाद यादव

सप्तरी, कात्तिक ५ गते । सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी र एमाले–जसपाका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धन र एमाले–जसपा दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । यो क्षेत्रबाट जनमत पार्टीका सुकदेव साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मकुन चौधरी, राप्रपा नेपालका कपिलदेव यादव, नागरिक उन्मुक्ति पार्टीका देमन मियाँ, बहुजन शक्ति पार्टीका विश्वेन्दर पासवान, नेपाल आमा पार्टीका देवानन्द चौधरी, नेपाल सदभावना पार्टीका संजोग चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका मो. इरफान आलम चुनावी प्रतिस्पर्धामा छन् । 

यस्तै, स्वतन्त्रबाट माधुरीकुमारी साह, जियाउल रहमान, शंकरलाल चौधरी, छेदीलाल पासमान, काशिम मियाँ, सुरेशकुमार चौधरी थारु पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार चौधरी र विपक्षी जसपा–एमाले गठबन्धनका उम्मेदवार यादवबीच नै मुख्य प्रतिष्पर्धा हुने स्थानीय मतदाताहरुको बुझाइ छ ।  

यस क्षेत्रमा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बोदेवरसाईन नगरपालिका र बलान विहुल गाउँपालिका गरी चार पालिका रहेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले सुरुङ्गा नगरपालिका, जसपाले बोदे बरसाइन नगरपालिका, नेकपा (माओवादी केन्द्र) ले खडक नगरपालिका र जनमत पार्टीले बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जित हात पारेको थियो ।  

यस क्षेत्रमा १ सय ३३ मतदान केन्द्र छ । यहाँ ५३ हजार १ सय ८० पुरुष, ५१ हजार ७ सय ८ महिला र अन्य ५ गरी कुल १ लाख ४ हजार ८९३ मतदाता छन् ।