• १३ साउन २०८१, आइतबार

नेपाली बजारमा सुनचाँदीको अभाव, दशैंपछि दैनिक ३५ केजी सुन कारोबार

blog

काठमाडौं, कात्तिक ५ गते । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ ।  तीज लागेसँगै दशैं, तिहार र मङ्सिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरे पनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च  छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहना दिन नसकेको व्यापारीहरु बताउँछन् ।

उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले ‘‘चाडपर्वहरु एकपछि अर्को आए पनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरु मारमा छन् । सुनचाँदीका गरहगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ । पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो । अहिले १० केजी सुन मात्रै आयात भइरहेको छ ।’’

अध्यक्ष शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताउनुभयो । बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको अध्यक्ष शाक्यको भनाइ छ ।

उहाँले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गर्नुभयो । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहना बिक्री हुने बताउनुभयो ।

अध्यक्ष शाक्यले भन्नुभयो, ‘‘तीजपछि सुनचाँदी बजारमा चहलपहल बढ्ने गर्छ । विभिन्न धार्मिक परम्परागत अनुसार नेपालमा सुनचाँदीको ठूलो महत्व  छ । तिहारमा नेपालीहरुको आफ्नो गक्ष अनुसार सुन चाँदीका गहना र धातुका भाडाहरु किन्ने गर्छन् । अहिले मुलुकभर दैनिक ३५ केजी सुनको माग  छ । तर दैनिक १० किलो मात्रै आयात भइरहेको छ । चाडपर्वमा ग्राहकहरुको मागलाई पूर्ति गर्नको लागि बजारमा सुनको अभाव भएर व्यवसायीहरु मारमा परेका छन् । सरकारले तत्कालै सुन आयातको कोटा बनाउन सकेन भने बजारमा सुनको तस्करी बढ्ने,बजारलाई विकृतितिर लैजाने देखिन्छ ।’’

अध्यक्ष शाक्यले दशैंपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताउनुभयो । धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास रहेको उहाँ बताउनुहुन्छ । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखे पनि चासो नदिएको गुनासो गर्नुभयो ।सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने अध्यक्ष शाक्यको भनाइ छ ।

‘‘विगतका धनतेरशका दिन हुने गहरगहनाको बिक्री यो वर्ष कम हुने देखिएको छ । अहिले दैनिक ३५ केजीसम्म सुनको कारोबार भइरहेको छ । धनतेरसको दिन ५० केजी सुन कारोबार हुन्छ ।  चाँदीको अन्य दिनमा ३०० केजी गहना बिक्री हुने गरेकोमा धनतेरसको दिन १ हजार केजी चाँदीको गहना र भाँडाकुँडा बिक्री हुन्छ ।’’ उहाँले भन्नुभयो ।

अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताउनुभयो ।

धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन, चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास छ ।

उहाँले धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मनपर्ने भएकाले विशेष गरेर यो दिन धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने बताउनुभयो । उहाँले अहिले दैनिक २ सयदेखि ३ सय किलासम्म चाँदीको कारोबार भइरहेको बताउँदै एक हजार किलोसम्म कारोबार हुने बताउनुभयो । उहाँले यस वर्ष विगतको तुलनामा कारोबार भने कम हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालीहरुको दोस्रो महान पर्व तिहारको यमपञ्चकको दिनदेखि पाँच दिनसम्म श्रद्धाका साथ धनको पूजा गरिन्छ । पूजा गर्ने क्रममा घरमा भएका धनका विभिन्न साधनहरुलाई पूजा गर्ने चलन छ । सबैको चाहन जीवन समृद्ध होस् । धनको कमी नहोस् । त्यसैको प्रतीक स्वरुपमा लक्ष्मीपूजाको दिन लक्ष्मीको पूजा गरिन्छ । यो नेपालीहरुको धार्मिक परम्परगत रुपमा हजारौंँ वर्षदेखि चल्दै आएको प्रचलन हो ।’’

सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरसको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ ।