• १६ भदौ २०८१, आइतबार

व्यावसायिक फूलखेतिबाट राम्रो आम्दानी

blog

मीना कंडेल

कावासोती, कात्तिक ४ गते । तिहार नजिकिएसँगै हजारी, मखमली, गुरधौलीजस्ता फूलको मालाको माग बढेसँगै वजारमा फूलको माला भित्रिएको छ । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा चिनिन्छ ।

नवलपुरको कावासोतीमा तिहार नजिकिएसँगै वजार झिलिमिलि देखिएको छ । प्राकृतिक मालाको व्यापार पनि राम्रो हुने व्यापारीहरु बताउँछन् । कावासोतीका ५८ वर्षिया दोमत्ती गाहा मगरको दैनिकि अहिले फूल बगैचामा बित्ने गरेको छ । तिहार नजिकिएसँगै दोमत्ती हरेक दिन बगैचामा  फूल टिप्ने र बेच्ने कार्यमा व्यस्त रहेको बताउनुभयो ।

व्यावसायिक फूलखेती गर्नुभएकी दोमत्ती ढल्किदो उमेरसंगै फूलखेती सुरु गरेपछि दिनचार्या कटाउन सहज भएको बताउनुभयो । तिहार नजिकिदै गर्दा दोमत्तीले लगाएका सयपत्री फूल ढकमक्क फूलेका छन् । तिहारका लागि फूल तयार भएकाले बगैँचाबाट प्रतिमालाको एक सय ३० रुपियाँ र प्रतिकिलो पाँच सयका दरले विक्री भइरहेको बताउनुभयो । 

कावासोती नगरपालिका –७ की मिश्रा पराजुलीले एक विघा क्षेत्रफलमा तिहारलाई लक्षित गर्दै फर्मकोे १० कठ्ठामा यसपाली ८ हजार बोट सयपत्री लगाउनु भएको छ । फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि पराजुलीले दुई वर्षिदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्दै आउनुभएको छ । सानो थुङ्गा भएमा प्रतिमाला १३० रुपियाँ र ठूला थुङ्गा भएमा प्रतिमाला १४० रुपियाँमा बेच्नेगरेको पराजुलीले बताउनुभयो । 

यस्तै, जिल्लामा नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिले आठ कठ्ठा जमिनमा व्यावसायिक फूलखेती सुरु गरेको छ । वनले व्यावसायिक फूलखेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न फूलखेती शुरु गरेको छ । जिल्लामा फूलको माग अत्यधिक रहेका कारणले पछिल्लो समय फूल व्यवसायमा किसानहरु आकर्षित हुँदैगएको व्यवसायीको भनाइ छ । 

जिल्लामा उत्पादित फूल स्थानीय बजार र गाउँघरमा नै खपत गर्दैआएको नव दुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टंकप्रसाद काप्लेले जानकारी दिनुभयो ।  तिहारका लागि घर–घरमा लगाइने हजारी, सयपत्री र मखमलीजस्ता फूलको व्यावसायिक खेती हुनु राम्रो भएको उहाँले बताउनुभयो ।