• ९ मंसिर २०८१, आइतबार

ग्रामीण जनजीवन बुझ्न ‘क्लोज क्याम्प’

blog

घोराही समाचारदाता

घोराही, कात्तिक ४ गते । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत कक्षा ९ का छात्र श्रेष कुमाखी घोराही बजारमै जन्मिनुभयो, बजारमै हुर्किनुभयो। करिब १४ को उमेरसम्म उहाँलाई खाना कसरी पकाउने थाहा छैन।

उहाँलाई न त आफ्ना कपडा धुने काम नै थाहा छ। विद्यालय तथा घरपरिवारसँग घुम्न जाँदासमेत नजिककै पार्क र धार्मिक मन्दिरबाहेक टाढा जाने मौका मिलेको छैन श्रेषलाई। सहर नजिकै गाउँ भए पनि विद्यार्थीहरू त्यहाँसम्म पुग्न सकेका छैनन्। यस्तो अवस्थाबाट विद्यार्थीलाई माथि उठाउन यहाँका विद्यालयहरूले व्यावहारिक ज्ञान सिकाउन थालेका छन्। 

दशैँ–तिहार बिदाको अवसरमा विद्यार्थीलाई ग्रामीण जीवनको महत्त्वसँगै किताबमा पढाएका कुराहरूकोे प्रत्यक्ष ज्ञान र अनुभव साट्ने उद्देश्यले दाङको पहाडी गाउँपालिका बङ्गलाचुली–२ को मर्पेसडाँडामा ‘क्लोज क्याम्प’ सुरु गरिएको छ। 

सो गाउँमा आयोजना गरिएको क्लोज क्याम्पले खाना कसरी बनाउने, खाना पकाउनका लागि आवश्यक सामग्री कसरी जुटाउनेदेखि ग्रामीण क्षेत्रमा बसोवास गर्नेको दैनिकी कसरी चल्दो हेछ बुझ्ने अवसर दिने गरेको छ। क्लोज क्याम्पपछि विद्यार्थीहरू एकआपसमा मिलेर सँगै खाना पकाउनेदेखि पकाउनका लागि दाउरा, पानी, तरकारी खोज्नेजस्ता काम गर्ने गरेका छन्। कक्षा ९ मा अध्ययनरत शुभेच्छा पौडेल ग्रामीण जीवनको अनुभवसँगै आफूजस्ता बालबालिकाले कसरी अध्ययन गर्दारहेछन् भनेर बुझ्ने अवसर प्राप्त भएको बताउनुहुन्छ। 

“घरमा मेरो पढ्ने मात्रै काम हुन्छ। खाना पकाउनेदेखि सरसफाइको काम आमाले गर्नुहुन्छ,” शुभेच्छाले भन्नुभयो, “विद्यालयले क्लोज क्याम्प गर्दा धेरै कुरा सिक्ने अवसर पाएको छु।” 

सो विद्यालयले घोराही बजारदेखि करिब १२ किलोमिटर टाढाको जङ्गल तथा बस्तीमा आयोजना गरेको क्लोज क्याम्पमा २३ जना विद्यार्थीको सहभागिता थियो।  

बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म घरमा गरिने सबै प्रकारका क्रियाकलापसँगै बालबालिकाले जीवनउपयोगी शिक्षा लिने काम गरिरहेको विद्यालयका सहप्राचार्य मुकुन्द गिरीले जानकारी दिनुभयो। 

उहाँका अनुसार विद्यालयले प्रत्येक वर्ष कक्षा ९ मा अध्ययनरत बालबालिकालाई जीवनाेपयोगी शिक्षासँगै समयको महत्त्व र ग्रामीण जीवनको ज्ञान गराउने उद्देश्यले २०७५ सालदेखि विद्यार्थीलाई क्लोज क्याम्प आयोजना गर्ने गरिएको छ। विद्यार्थीहरू किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा दिलाउने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष यही समयमा क्लोज क्याम्पमा ल्याउने गरेको छ। विद्यार्थीहरू करिब एक साता क्याम्पमा बस्ने गरेका छन्।