• १३ साउन २०८१, आइतबार

अहिले काम चुनावका कुरा पछि

blog

लहान समाचारदाता

लहान, कात्तिक ४ गते  । लहान नगरपालिकाको ग्रामीण भेगका मल्लाह (सहनी) समुदाय छठपर्वको लागि चाहिने बाँसजन्य ढकिया बनाउन व्यस्त देखिएकाले उम्मेदवारहरूले आफ्ना कुरा राख्ने समय पाएका छैनन्। ढकिया बनाएर राम्रो आम्दानी गर्ने सपना देखेका मल्लाह समुदायको व्यस्तताले आसन्न निर्वाचनका उम्मेदवारहरू गाउँमा पसे पनि उम्मेदवारका कुरा सुन्ने फुर्सद कसैलाई छैन।

स्थानीयवासी अब छठपछि मात्रै चुनावको कुरा गर्ने र कसलाई मत हाल्ने भन्ने निर्णय लिने बताउँदै आएका छन्। 

मल्लाह समुदायले भदौ र असोज दुई महिना ढकिया बनाएर बेचेपछि एक जनाले ५० हजारदेखि एक लाखसम्म कमाइ गरेर वर्ष दिन गुजारा गर्ने गरेका छन्। ढकिया बनाएर कसरी बिक्री गर्नेबारे सोच्न फुर्सद नरहेको बेला उम्मेदवारको कुरा सुन्ने आफूहरूलाई फुर्सद नभएको मल्लाह समुदायका युवा बताउँछन्। स्थानीय शैलेन्द्र सहनीले भन्नुभयो, छठ पर्वको अवसरमा ढकिया बनाउने र राम्रो आम्दानी कसरी गर्ने भन्ने योजना बनाउन थालेका छौँ। चुनावबारे खासै चासो अहिले छैन। 

एउटा बाँसबाट चारवटा ढकिया बनाउन सकिने उहाँले बताउनुभयो। पुख्र्याैली पेसाको रूपमा रहेको ढकिया बनाउने कामबाट राम्रो आम्दानी हुन सक्ने बजार नहुँदा समस्या रहेको बताउँदै सञ्जय सहनीले भारतीय बजार लौकहा, खुटौना, जयनगरसम्म जान नेपाल भारत सीमामा नरोक्ने हो भने कमाइ दोब्बर हुने बताउनुभयो। 

सहनी समुदायले तयार गर्ने बाँसजन्य सामग्रीको भारतीय बजारसम्म निर्यातको लागि सहज वातावरण बनाइदिन शिक्षा स्वास्थ्य र पेसालाई मर्यादित र भरपर्दो बनाइदिन यस पटक चुनावमा आउने राजनीतिक दलहरूसँग मल्लाह सहनी समुदायको माग रहेको अर्का स्थानीय युवा वृजेन्द्र सहनीले बताउनुभयो। नेपालको तराई मधेश र भारतको बिहार, उत्तरप्रदेशमा हुने छठ पर्वको लागि चाहिने माटो र बाँसका सामग्रीहरू बनाउने लहानका कुम्हाल र मल्लाह सहनीको पुख्र्याैली पेसालाई मर्यादित बनाउन बजार र भारततर्फ निर्यात सहज गरिदिए कुम्हाल र मल्लाह समुदायको आर्थिक अवस्था निकै बलियो हुने लहान–३ का वडाध्यक्ष रामनाथ पण्डित कुम्हालले बताउनुभयो।