• ७ पुस २०८१, आइतबार

स्वर्ण विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

blog

कास्की, कात्तिक २ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्नुभयो ।

गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध हुनुहुन्छ । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेल्नुभयो । उहाँले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी हुनुहुन्थ्यो, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उहाँमा थियो । आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उहाँले बताउनुभयो । 

पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उहाँले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिनुभयो । नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उहाँले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गर्नुभयो । उहाँको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ ।


उहाँले भन्नुभयो, “देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागिपर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।” 

उहाँले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सक्नुभएको छैन । 

सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताउनुभयो । “हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई/तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुपर्छ,” उहाँले भन्नुभयो ।

नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्णपदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरीबल लाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन । 

पुलिस टोलीको कप्तानी गर्नुभएका नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताउनुभयो । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आउनुभएका उहाँ यसपटक विभागीय टोलीबाट खेल्नुभयो । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, “विभागमा खेलाडीमा जागीरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।” 

उहाँको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उहाँले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उहाँको विश्वास छ । 

उहाँले भन्नुभयो, “खेलाडीलाई क्रिकेटमा लागिरहने आधार बनाउनु चुनौतीपूर्ण छ । म्याच धेरै हुनुपर्दछ । पुरुषको इपिएललगायतका प्रतियोगिता हुँदा केटीहरुको पनि हुुनुपर्छ । राखेप, क्यानलगायत अन्य कर्पोरेट सेक्टरले पनि यसबारेमा पनि अब सोच्नुपर्दछ ।”


नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य अप्सरी बेगम खेल प्रदर्शनका लागि प्रतियोगिताको कमी भएको बताउनुभयो । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट क्षमताका खेलाडी निस्किरहेकाले उनीहरुलाई राम्रो म्याच एक्पोजर दिनसके खेलको विकास राम्रो हुने उहाँको सुझाव थियो । उहाँले भन्नुभयो, “अहिले म्याचको कमी छ । हामीले धेरै प्रतियोगिता खेल्न पायौँ भने हाम्रो स्तर वृद्धि हुन्छ ।”

पुलिसको टोलीमा रहेर स्वर्ण जितेपछि उहाँ उत्साहित हुनुहुन्छ । “पुलिस टिम बनेर महिला क्रिकेटमा पहिलो सहभागितामै स्वर्ण जित्दा खुसी भएका छौँ । यस टिमले पछि राम्रो खेल्नेछ,” उहाँको विश्वास छ ।