• १९ असोज २०८१, शनिबार

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि

गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल

blog

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, कात्तिक १ गते । सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा गरिएको अपिलमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न भनिएको छ ।

विसं. २०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको साझा उद्देश्य मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक भएको संसद् विघटनलगायतका क्रियाकलापविरुद्ध संविधानको रक्षा गर्नुपर्ने आवश्यकता रहेको जनाइएको छ ।

मुलुकमा राजनीतिक स्थायित्व, जनताको समृद्धिको आकाङ्क्षा, सङ्घ, प्रदेश र स्थानीय सरकारहरुके सक्रियाता पहल र अत्यावश्यक पूर्वाधारहरूको विकास, शिक्षा, स्वास्थ्यलगायत लोकतन्त्रको सबलीकरणका मुख्य विषयहरूमा गठबन्धनले साझा धारणासहित मतदानका लागि संयुक्त अपिल जारी गरेको हो ।