• १९ असोज २०८१, शनिबार

ललितपुरको सम्पदा र संस्कृति प्रवर्द्धन गर्न उम्मेदवार बनेँ : ऊर्जामन्त्री भुसाल

blog

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल । तस्बिर : केशब गुरुङ

ललितपुर, कात्तिक १ गते। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिको  प्रवर्द्धन  गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ। मङ्गलबार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो। गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएकी भुसालले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।

उहाँले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। 

मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताउनुभयो। उहाँले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्धन गर्न जोड दिने उल्लेख गर्नुभयो। 

‘‘हामी ललितपुरबासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्धन समृद्धिको महत्त्वपूर्ण आधार हो। यसलाई नै यहाँको हरेक घर, परिवारको आर्थिक उपार्जनसँग जोड्नुपर्दछ। व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवर्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू हुनुपर्दछ’’, मन्त्री भुसालले भन्नुभयो। 

पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुप नीति र कार्यक्रम बनाउनका निम्ति प्रतिबद्ध रहेको उहाँको भनाइ छ। ‘‘आगामी यात्रा कला, संस्कृति र सम्पदाले भरपुर पर्यटकीय क्षेत्रका रुपमा सम्पन्न ललितपुर। यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्धन गर्दै आकर्षक पर्यटकीय पूर्वाधारका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति, निर्माण गरी कार्यान्वयन गर्न म लागिपर्नेछु’’, उहाँले भन्नुभयो।