• २० असोज २०८१, आइतबार

समृद्धि नै सत्तारुढ गठबन्धनको चुनावी मुद्दा : उपसभापति खड्का

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का । फाइल तस्बिर

काठमाडौं, असोज ३० गते। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने लक्ष्यसहित आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बताउनु भएको छ। उहाँले संविधानको रक्षा, मुलुकको स्थिरता र समृद्धि नै सत्तारुढ गठबन्धनको चुनावी मुद्दा हुने स्पष्ट पार्नुभयो। 

उपसभापति खड्काले मुलुकको कुना कुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। 

आइतबार न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले लोकतन्त्रको रक्षाका लागि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि र जनताको समृद्धिका लागि आफूले विचार मिल्ने पार्टीसँग सहकार्य गरेर चुनावी गठबन्धन गर्नु परेको उहाँको भनाइ छ। 

उपसभापति खड्काले जनताले मुलुकमा तीव्र आर्थिक विकास चाहेको र त्यसलाई पूरा गर्नका लागि पनि सत्तारुढ गठबन्धन आगामी निर्वाचनमा विजयी हुन चाहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘एजेन्डा मिल्ने दललाई साथमा लिएर आगामी निर्वाचनमार्फत दुई तिहाइ बहुमतको लक्ष्यसहित हामीले यो आम निर्वाचनलाई सारमा भन्दा संविधानको रक्षा, स्थिरता र मुलुकको समृद्धिको लागि हामी यो निर्वाचनमा सत्तारुढ दलहरू चुनावी गठबन्धन गरेर अगाडि बढदैछौं।’’

उपसभापति खड्काले सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्न, संविधानलाई आवश्यकता अनुसार संशोधन गर्दै अगाडि बढ्न पनि कांग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दललाई साथमा लिएर निर्वाचनमा जानु परेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘‘हामीले सन्तुलित परराष्ट्र नीतिलाई अगाडि बढाउनुपर्छ। ठूला छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउनु छ। जनतालाई समृद्ध बनाउनु छ। त्यसका लागि पनि आगामी निर्वाचनमा जनताले सत्तारुढ गठबन्धनलाई चुनावमा विजयी गराउनुपर्ने हुन्छ।’’

उपसभापति खड्काले ठूला छिमेकी मुलुक भारत र चीनसँग सकारात्मक सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन पनि सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा विजयी हुनुपर्ने दोहोर्‍याउनु भयो।