हरेक महापुरुषमा आ–आफ्नै प्रकारका आनीबानी, शीलस्वभाव र विशेषता अन्तर्निहित हुन्छन्। सबैमा पाइने मूल गुण भनेको उनीहरूमा विद्यमान दृढप्रतिज्ञा, उत्साह र निरन्तरको साधनाचाहिँ समान हुन्छ । बिना उत्साह, कार्यप्रतिको निष्ठा र आफूप्रतिको विश्वास नभई कोही पनि कार्यक्षेत्रमा अगाडि बढेर सफलतालाई चुम्न सक्दैन या भनौँ लक्ष्यमा पुग्न सक्दैन। सफलता चाहने व्यक्ति जुन कार्यलाई आफ्नो हातमा लिन्छन्, त्यसलाई अदम्य उत्साह साथ कहीँ बिराम नलगाई पूर्ण गरिछाड्छन्। यस्तै सफलताले उनीहरूमा गति ल्याउँछ, जोस र जाँगर पनि अरू विकसित हुँदै गइरहेको हुन्छ।
जो व्यक्ति चाहे भौतिक समुन्नति होस् या आध्यात्मिक प्रगति चाहन्छ, उसले सदैव विचार गर्नुपर्ने विषय भनेकै उत्साहलाई कदापि मर्न दिनु हुँदैन। अझ त्यसलाई अरू जागृत कसरी तुल्याउने ?त्यसतर्फ चिन्तन गर्नुपर्छ। नत्र निराशाको बादल स्वतः मडारिन थाल्छ, जसको अर्थ हुन्छ गन्तव्यहीन यात्रा! संसारमा निराशावादी मानिसको कुनै कमी छैन। उनीहरू भन्ने गर्छन् अहिले समय कहाँ छ ? त्यस्तो कार्य गर्नलाई या अहिले त्यो काम गर्ने बेलै होइन। हेरुँ न अरूले के गर्छन्, के भन्छन्। यस्तो समय पछि पनि आइहाल्छ नि आदि आदि। त्यस्ता व्यक्ति जीवनलाई सधैँ व्यर्थ, बेकम्मा र अनुपयोगी, परिस्थितिलाई प्रतिकूल र सबै प्रयासलाई निरर्थकको पगरी लगाइदिन कत्ति पनि पछि पर्दैनन्। बरु जीवनभर रुन, कराउन, पश्चाताप गर्न र त्यस्तै परे अरूलाई आक्षेप लगाउन, सिकायत मात्र गरिराख्न तयार हुन्छन्। उत्साहसाथ जीवनलाई अघि बढाउनुपर्छ भन्ने विषयमा सोचै राख्दैनन्।
आफ्नो छिमेकका छिमेकी र वरपरका सबै मानिसप्रति त्यस्ता व्यक्ति सदैव रुष्ट हुन्छन्। अरूको प्रगतिलाई त एउटा आँखाले पनि देख्न सक्दैनन्। अरूले राम्रो काम गरेकोमा सधैँ नकारात्मक टिप्पणी मात्र हुन्छ। उनीहरूको मुखबाट सकारात्मक शब्द झर्न पनि साइत कुर्नु पर्नेजस्तो भइदिन्छ। हिजोआज यस्ता हुतिहाराको सङ्ख्या दिनानुदिन बढदो छ।
रुपियाँ/पैसा नभएर या शिक्षा/दीक्षा नभएर या अनकन्टार ठाउँमा बसेर पो यसो भएको हो भनौँ भने उनीहरूसँग धनको कुनै कमी छैन, सुदूरगाउँ/बस्तीबाट आएका होइनन्, सहर/बजारमै ठूल्ठूला महल/भवनमा उनीहरू बस्छन् तर चिन्तन, सोच र विचारमा सङ्कीर्णताको कारण, यस्ता व्यक्तिहरू अलमलमै जिन्दगीलाई बरबाद पार्न उद्यत हुन्छन्। यस्ता सोचाइ राख्नेहरूको सङ्गतमा कोही प¥यो भने उसमा आउने नैराश्यता र नकारात्मक सोचाइको कारण कुनै पनि राम्रो कामलाई प्रशंसा, नराम्रो कामलाई आलोचना गर्न सक्ने अवस्थामा हुँदैनन्। बरु अरूलाई पनि आफूजस्तै बनाउन सक्रिय भइरहेका हुन्छन्।
यसको विपरीत सकारात्मक सोच भएको, केही राम्रो काम गरेर देखाऔँ भन्ने चिन्तन भएका व्यक्तिको हृदयमा भने सदैव आशा, उत्साह र निष्ठाका तरङ्ग सदैव सल्बलाइरहेका हुन्छन्। आशावादी मानिस प्रायः दुई प्रकारका हुन्छन्– बुद्धिमान् र सामान्य।
बुद्धिमान् र आशावादी व्यक्ति के विश्वास राख्छ भने संसार सुन्दर र उत्कृष्ट छ। मानिसकै कारण केही कमीकमजोरी जे छन् ती सबैलाई चेतनाको दियो बालेर चाहेको जस्तो अरू सुन्दर विश्वनिर्माण गर्न सकिन्छ भनेर आफ्नो कर्तव्यपथमा हिँडिरहेको हुन्छ। त्यस्ता व्यक्तिको स्वभाव नरम, भद्र र शालीन हुन्छ। उनीहरू कसैलाई पीरपिराउ दिन कहिल्यै अघि बढ्दैनन्। बरु आफू दुःख, कष्ट बेहोरेर अरूका लागि के गर्दा हित÷कल्याण हुन्छ भनी योजना बनाउन, कार्यक्रमका विविध उपाय तर्जुमा गर्न र व्यावहारिक रूपमा सोचेको कार्यलाई कार्यान्वयनको स्तरमा ल्याउन खटिरहेको हुन्छ।
यस्ता प्रकृतिका व्यक्ति आफ्नो जीवन सुन्दर र असल बनाउन कसरी आफूलाई अरू परिष्कृत तुल्याउने भन्नेमा दत्तचित्त हुन्छन्। आफूमा जे जति कमीकमजोरी, दोष होलान्, ती सबैलाई सुधार गरेर जीवनलाई साँच्चैको सर्वोत्कृष्टताको बाटोमा रूपान्तरण गर्न तयार हुन्छन्। उनीहरू बहानाबाजी गर्दैनन्। गरेरै देखाउँछन्। आजसम्म विश्वमा जे जति असल, राम्रो, उत्कृष्ट कार्य भएका छन्, ती सबै यस्तै प्रकारका बुद्धिमान्, उदार सोच र विशाल हृदय भएका मानिसकै कारण सम्भव भएको हो।
यस प्रकारको स्वभाव भएका व्यक्ति जे चाहन्छन्, त्यसलाई प्राप्त गरेरै छाड्छन्। उनीहरूलाई सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे राम्रो ज्ञान हुने भएकाले जति पटक राम्रो कामलाई अगाडि बढाउँछन्, त्यति नै पटक सफलता हासिल गर्छन्। यसको कारण हो उनीहरूमा अधिक उत्साह, उमङ्ग, निष्ठा र आफूप्रतिको विश्वास छ। फलतः हरेक कार्यमा त्यस्ता व्यक्तिहरू झन् झन् उत्साहित हुँदै अनन्य राम्रा कार्य गर्दै जाँदा अरूले पनि त्यसबाट सुख, शान्ति र आनन्दको अनुभूति गर्न पाउँछन्। समाज र राष्ट्र उनीहरूबाट अनुगृहित भएको हुन्छ।
यस्तै कार्यबाट हो संसारले निरन्तर अधिकाधिक आनन्दको मार्गमा अग्रसर हुने बाटोलाई पहिल्याउने! यस्ता व्यक्ति आफ्नो उत्साहको कारण के होला जान्नेतर्फ ध्यान दिनै पाएका हुँदैनन्। बरु आफ्नो शीलस्वभाव, चरित्र र बहुउपयोगी कार्यको सफलताबाट प्राप्त प्रकाशद्वारा सम्पर्कमा आउने अरूहरूले पनि दिव्यताको अनुभूति गर्न पाउँछन्। यसैगरी बिस्तारै बिस्तारै अरूहरू पनि जोडिन पुग्छन्। संसारमा असल व्यक्तिको सङ्गत कसलाई चाहिएको छैन ? असल व्यक्तिको चाहना कसलाई हुँदैन ?
यस्तो पनि नहुन सक्ने होइन कि आशा, उत्साह, उमङ्गलाई थेग्न सकिएन र तिनलाई निरन्तरता दिन सकिएन भने शिथिल अवस्थामा गुजिँ्रदै गएको मनस्थितिले मानिसलाई अगाडि बढ्नै दिँदैन। त्यस्तो व्यक्ति हातमा लिएको कामलाई बीचैमा छोडेर अरू नयाँ कार्यमा मन दिन्छन्। त्यहाँ निष्ठाको कमी, समर्पित भावनाको अभाव देखिन थाल्छ। नयाँ कार्यमा पनि निरन्तरता एवं उत्साह, उमङ्गको कमी हुने हो भने जीवनको अन्तमा देख्नेछौँ कि हाम्रा सबै कार्य एकपछि अर्को गर्दै सबै अधुरै रहनेछन्। त्यसपछि कहिलेकाहीँ मिल्ने फुर्सदको समयमा जीवनमा भएको उत्साहजनक प्राप्तिलाई गुणान÷भाग गरेर हेर्दा ‘हातमा लाग्यो शून्य’ बाहेक केही प्राप्त हुने छैन। यस्तै निस्सारताले हो कसैका लागि जीवन बोझ बन्न पुग्छ, जिन्दगानी पट्यारलाग्दो उकुस मुकुसले ग्रस्त बनिदिन्छ, हिनताबोधले गलाउन थाल्छ। जीवन निरर्थक बनेको हेर्न कोही चाहँदैन। समय र अवसरको महìवलाई बुझ्न नसक्दा चुकचकाउनुबाहेक केही हात लाग्दैन।
यस्ता व्यक्तिको उत्साह स्थिर नहुनाको मुख्य कारण नै उनीहरूमा पल्पिँदो अधैर्य र दृढनिश्चयताको कमी हो। महापुरुषको काम गर्ने शैली, उत्साह र धैर्यपूर्वक प्रतीक्षा गर्ने क्षमता अरूभन्दा कैयौँ गुणा बढी हुन्छ। निरन्तर काममा लागिरहने लगन र हातमा लिएको कार्य पूरा गरेरै छाड्छु भन्ने दृढप्रतिज्ञा तथा फलको प्रतीक्षामा व्यग्र नभई असल कामको नतिजा असलै हुन्छ, खराब कामको परिणाम खराब हुन्छ भन्ने सोचको साथ शान्तिपूर्वक आफ्नो सुकर्ममा दत्तचित्त हुने मानिसको मनमा विश्वास र आशाको दीप सदैव दीप्तमान भइरहेको हुन्छ। उसलाई के भरोसा हुन्छ भने राम्रो गरे जीवनमा नतिजा सदैव राम्रै हुन्छ। यही मानसिक प्रवृत्तिको अधिकताको कारण त्यस्ता व्यक्तिको हृदयमा उत्साह शिथिल हुन कहिल्यै पाउँदैन। अनेकथरी कठिनाइ, भय, चिन्ता, बाधा, व्यवधानको बीचमा पनि उनीहरू निराश र हतास हुँदैनन्। सबै महान् व्यक्ति धैर्य, स्वेच्छा र प्रसन्नताले आफूले लक्षित गरेका यावत् कार्य सम्पन्न गर्छन्। उनीहरूको स्वस्थ आशावाद एवं कार्यप्रतिको अपार निष्ठा नै कार्य सफलताको गुढ रहस्य हो। सामान्य प्रकारका मानिसले ती सबै कुरा बुझ्न भ्याएकै हुँदैन।
बाचुञ्जेल अनुशासन र मर्यादामा रहेर उदाहरणीय जीवन जिउनु नै वास्तविक जीवन्त जीवन हो। त्यसदेखि बाहेक लामो उमेर मात्र बाँच्नु कुनै पुरुषार्थ होइन। जति बाँचिन्छ समाज, राष्ट्र, विश्व एवं मानवताको प्रवद्र्धनका लागि के गरियो भनेर चिन्तन गरी कार्यक्षेत्रमा आफूलाई समर्पित गराउनेहरू नै वास्तवमा जीवन्त रूपले बाँचेका हुन्छन्। जति जीवन बाँचिन्छ त्यसलाई उल्लेखलायक बनाउन सकियो भने नै जीवन बाँच्नुको सार्थकता हुन्छ। यथार्थमा मानिसको जीवनको लक्ष्य र उद्देश्य पनि यही हो। अधिकांशले त्यसलाई बिर्सिरहेका हुन्छन्।
आफ्नो विचार र कर्ममा विश्लेषणात्मक दृष्टि राख्नु, आफूले आफैँलाई सदैव परख गर्नु र सदासर्वदा सावधान रहनुको पनि आफ्नै महìव हुन्छ। यो कुरालाई अवज्ञा गर्दा कैयौँ व्यक्तिले उपलब्धि, इज्जत र प्रतिष्ठालाई माटोमा मिलाएका पनि छन्। आफ्नैउपर आत्मनिरीक्षण बराबर भइरहनुपर्छ, जसले व्यक्तित्वमा निखार ल्याओस्। हामी मनमा उठ्ने दूषित विचार, कलुषित भाव, कटु वचन र अशुभ कर्महरूबाट तब बच्न सक्छौँ, जब हामी त्यसउपर सदैव सतर्क दृष्टि राख्ने आदत बनाउँछौँ। सचेत र सावधान रहेर नै हामी आफूलाई कुनै पनि गलत मार्गमा फस्नबाट रोक्न सक्छौँ।
एक पटक त्रुटिरहित जीवनसङ्गीतको मधुर ध्वनि उत्पन्न भइसकेपछि आफ्नो व्यक्तित्वमा यस्तो क्षमता आउँछ, जसबाट हामी कुनै पनि महान् कार्य निर्विघ्नतापूर्वक गर्न सक्छौँ। त्यसैलाई विश्वसनीयता, मान, इज्जत, प्रतिष्ठा आदि गुणले ओतप्रोत भएको व्यक्ति भनेर सम्बोधन गरिन्छ। समाजमा यस्ता व्यक्ति विरलाकोटी हुन्छन्, जरुर हो। अबको प्रयत्न यस्ता व्यक्तिहरूको तयारी र निर्माण कुनै पनि परिवार, समाज, राष्ट्र र विश्वको लागि आवश्यक भइसकेको छ जस्तो तपाईंलाई लाग्दैन ?
हरेक क्षण सावधानी र अनुशासनको तराजुमा आफूलाई राखी कुनै पनि परिस्थितिमा सदाचारको लक्ष्मणरेखाको उल्लङ्घन गर्दिनँ भन्ने प्रणले विश्वस्त भई कार्यक्षेत्रमा समर्पित हुने हो भने कहीँ बाधा÷अड्चन भोग्नु पर्दैन। त्यसको विपरीत भयो भने या त्यसमा समन्वय र तालमेल नबसाली कुनै प्रकारको महान् लाग्ने कार्यहरूमा प्रयास गरियो भने उसले कहीँ न कहीँ, कुनै न कुनै बेला गडबडी ल्याउँछ, उदण्डता मच्चाउँछ, दुराचारीलाई प्रोत्साहन दिन्छ भन्ने ढिलो/चाँडो सत्य भएरै रहन्छ।
नियमित रूपले समर्पणभावप्रतिको निष्ठा तत्पश्चात् शान्त, स्थिर र गहन रूपले हरेक दिन केही समय ध्यानको अभ्यास गर्नाले आफूभित्र उत्साह, धैर्य र सूक्ष्म रूपले समत्वमूलक दृष्टि उत्पन्न हुन थाल्छ, जसको माध्यमबाट अन्ततः दूषित विचार, दूषित वचन र दूषित कर्मप्रतिको मोहभङ्ग हुन थाल्छ, जसको अर्थ हुन्छ जीवनमा परिमार्जन, संशोधन र परिष्कार! जीवनप्रतिको जागरुकता! अन्ततोगत्वा जीवनमा रूपान्तरण! जीवनमा
अहङ्कार हरकोही मानिसका लागि कालो धब्बा हो भनिदिए हुन्छ। अहङ्कारले नै जस्तोसुकै सफल र असल मानिसलाई पनि पतनको बाटोतिर पु¥याउँछ। हाम्रो आन्तरिक जगत्को सम्पत्ति अर्थात् उत्साह, उमङ्ग एवं आफूप्रतिको विश्वास त्यत्ति नै महìवपूर्ण छ, जति भौतिक जीवनका लागि धनसम्पत्तिको हुन्छ। हामी आफ्नो अक्षय शक्तिहरूलाई चिनौँ र त्यसको अनुभव गरौँ। त्यसपछि धैर्य र उत्साहको साथ तिनको उपयोग गर्न तथा तिनैको माध्यमबाट आफ्नो जीवनरथलाई अगाडि बढाउन थाल्यौँ भने जीवनमा महकताको सुवास जताततै अनुभव हुन थाल्छ। जीवनमा सुख, शान्ति, आनन्दको बहार आउन सुरु भइहाल्छ। जीवनलाई यसरी समर्पित गर्दा कहीँ पनि प्रशंसा र पुरस्कारको आशा नगरौँ। केवल आफूले गर्ने कार्यलाई अधिक सुन्दर, अधिक मानवीय बनाउन सदैव आतुर रहौँ।