• ७ मंसिर २०८१, शुक्रबार

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट

blog

तस्बिर : गृह मन्त्रीको सचिवालय

काठमाडौं, २७ असोज । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, आपसी सहयोग आदान प्रदानलगायत विषयमा कुराकानी भएको छ ।

गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताउनुभयो ।  ‘‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’’ गृहमन्त्री खाणले भन्नुभयो, ‘‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’’

उहाँले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताउनुभयो । त्यस्तै, गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताउनुभयो ।

नेपाल–चीन बीचमा कूटनीतिक सम्बन्धका साथसाथै सामाजिक र सांस्कृतिक सम्बन्ध पनि रहेको बताउँदै खाणले नेपालको भौतिक विकास, प्राकृतिक विपद् र महामारीको बेलामा पुर्‍याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई राजदूत यान्छीमार्फत धन्यवाद दिनुभयो ।

राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्त्वपूर्ण जिम्मेवारीका लागि जान लागेकोमा शुभकामना व्यक्त गर्नुभयो । स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सद्भाव र सहयोग, पर्यटनको विकासमा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाणले व्यक्त गर्नुभयो ।

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताउनुभयो । पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सद्भावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताउनुभयो ।

खाण गृहमन्त्री भएपछि चीन–नेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको सराहना गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीररूपमा लिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

मङ्सिर चार गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट राजदूत यान्छीले दिनुभयो । आफू जुनसुकै जिम्मेवारीमा जहाँ रहे पनि नेपालबाट प्राप्त सम्मान र सद्भावलाई सदैव सम्झिरहने यान्छीले बताउनुभयो ।

गृहमन्त्री खाणले नेपालमा संवैधानिक व्यवस्था अनुसार ५/५ वर्षमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुने जानकारी गराउँदै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेको तथा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक सम्पन्न गर्ने तयारी सरकारले गरिरहेको बताउनुभयो ।