• १३ साउन २०८१, आइतबार

डेङ्गु नियन्त्रण गर्न औषधि छर्किन थालियो

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज २७ गते । डेङ्गु नियन्त्रण गर्ने उद्देश्यले सर्लाहीको हरिवनमा मङ्गलबारबाट लामखुट्टे रहन सक्ने स्थानमा औषधि छर्किन थालिएको छ। हरिवन नगरपालिकाले व्यापक रूपमा फैलिँदै गएको डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानअन्तर्गत औषधि ‘स्प्रे’ गर्न सुरु गरेको हो। मङ्गलबार पहिलो दिन हरिवन बजार, नयाँ रोडलगायतका स्थानमा लामखुट्टे मार्न औषधि छिट्ने (छर्किने) काम भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो। 

जनसङ्ख्या धेरै रहेको र डेङ्गुको उच्च जोखिम रहेको हरिवन नगरपालिका–११ बजार क्षेत्रलाई प्राथमिकमा राखेर औषधि ‘स्प्रे’ गरिएको उहाँले बताउनुभयो। हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) र हरिवन बजार क्षेत्रमा पर्ने वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा आफँै औषधि छिट्ने र सचेतनामूलक कार्यक्रममा सहभागी भइरहनुभएको छ। नगरभित्र डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि सचेतना जगाउने, लामखुट्टे रहनसक्ने स्थल पहिचान गरी औषधि ‘स्प्रे’ जस्ता अभियान सञ्चालन गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो। 

यो अभियानसँगै नगरभित्रका अस्पतालमा पुगेर डेङ्गुका बिरामीको विवरण सङ्कलन गर्न सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। मङ्गलबार पहिलो दिन नगर अस्पतालको रूपमा रहेको सासापुर स्वास्थ्य चौकीसहित केही निजी अस्पतालमा पुगेर डेङ्गुका बिरामीको विवरण लिँदा ३७ जना बिरामी फेला परेका स्वास्थ्य शाखा सह–संयोजक चौधरीले बताउनुभयो।