• १३ साउन २०८१, आइतबार

चौँतीस लाख मतदाता चार हजार मतदान केन्द्र

blog

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, असोज २७ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा दुई हजार १५६ मतदान स्थल निर्माण र चार हजार २३५ मतदान केन्द्र तोकिएको छ। प्रदेशभरि ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र छन्। 

प्रदेशका आठवटै जिल्लाका गरी ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेको प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामले जानकारी गराएको छ। गत स्थानीय निर्वाचनमा ३३ लाख ३१ हजार १७० जना मतदाता रहेका थिए। यस निर्वाचनमा ५५ हजार ४५८ जना मतदाता थप भएको छ। प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तका अनुसार यस पटक ३३ लाख ८६ हजार ६२८ जना मतदाताले मतदान गर्न पाउने भएका छन्। प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला छन्।

प्रदेशमा सबैभन्दा कम मतदाता पर्सामा रहेका छन् भने सबैभन्दा बढी सर्लाहीमा छन्। पर्सामा एक लाख ९४ हजार ९०४ पुरुष, एक लाख ५१ हजार आठ महिला र १६ जना अन्यसहित कुल तीन लाख ४५ हजार ९२८ जना र सर्लाहीमा दुई लाख ५९ हजार ४१४ पुरुष, दुई लाख १९ हजार ६१४ महिला र अन्य १० गरी कुल चार लाख ७९ हजार ३८ मतदाता रहेका छन्। यस्तै सबभन्दा कम मतदान स्थल पर्सामा र सबभन्दा बढी धनुषामा छन्। पर्सामा १६७ र धनुषामा ३२२ मतदान स्थल छन्। सबैभन्दा बढी मतदान केन्द्र धनुषामा ६०५ र सबभन्दा कम पर्सामा ४१२ वटा मतदान केन्द्र तोकेको बताइएको छ।

सप्तरीमा दुई लाख १७ हजार २८२ पुरुष, दुई लाख एक हजार ७१ महिला र अन्य २१ गरी कुल चार लाख १८ हजार ३७४, सिरहामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६११ महिला र अन्य दुई गरी जम्मा चार लाख २२ हजार ७१२, धनुषामा पुरुष दुई लाख ५२ हजार ९१५, महिला दुई लाख १६ हजार ६६५ र अन्य सात जनासहित कुल चार लाख ७४ हजार ५८७, महोत्तरीमा पुरुष दुई लाख १५ हजार १३१, महिला एक लाख ८१ हजार ८९८ र एक जना अन्य गरी जम्मा तीन लाख ९७ हजार ३० मतदाता रहेको प्रादेशिक निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिनुभयो। 

यसैगरी कार्यालयका सूचना अधिकारी राउतका अनुसार रौतहटमा पुरुष दुई लाख २७ हजार २२९, महिला एक लाख ८८ हजार २२५, अन्य एक जना गरी जम्मा चार लाख १५ हजार ४५५, बारामा दुई लाख ३६ हजार ८८० पुरुष, एक लाख ९६ हजार ६१२ महिला र १२ अन्यसहित कुल चार लाख ३३ हजार ५०४ मतदाताले मतदान गर्न पाउने छन्। यसैगरी सप्तरीमा २९५ मतदान स्थल, ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदान स्थल, ५०५ मतदान केन्द्र, धनुषामा ३२२ मतदान स्थल, ६०५ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदान स्थल, ४९९ मतदान केन्द्र, सर्लाहीमा ३१२ मतदान स्थल, ६०० मतदान केन्द्र, रौतहटमा २७६ मतदान स्थल, ५२३ मतदान केन्द्र, बारामा ३०५ मतदान स्थल, ५५५ मतदान केन्द्र र पर्सामा १६७ मतदान स्थल र ४१२ मतदान केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो। प्रदेशका प्रत्येक जिल्लामा चार÷चारवटा प्रतिनिधि सभा सदस्य र आठ÷आठवटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको छ।