• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचक ११.३२ अङ्कले वृद्धि

blog

काठमाडौं, असोज २६ गते । पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ११.३२ अङ्क बढेर १८६६.४८ बिन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अङ्क, फ्लोट इण्डेक्स ०.८१ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अङ्कले बढेको छ । आज कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलबारको तुलनामा आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा  वित्त उपसमूहको परिसूचक २.६७ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत बढेको छ ।

अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एभरेष्ट बैंकको ऋणपत्रको मूल्य ९.८३ प्रतिशत घटेको छ । नबिल बैंकको दुई करोड ४० लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।