• १६ भदौ २०८१, आइतबार

केरा बेचेर दैनिक खर्चको जोहो

blog

तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई केरा बिक्री गर्नुहुँदै गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५९ वर्षीया सुकुमाया कुमाल । तस्बिर : रासस

डुम्रे, असोज २६ गते । राजमार्गमा गुड्ने बसका यात्रुलाई केरा बेचेरै सुकुमाया कुमालको घरखर्च चलेको छ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई दिनहुँ केरा बिक्री गरेर गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५९ वर्षीया कुमालको जीविकोपार्जन चलेको छ ।

उहाँ सडकमा गुडिरहेका बसको अघिपछि हातमा केरा बोकेर दौडिन थालेको पनि झण्डै ४० वर्ष बित्यो । १९ वर्षको उमेरमा विवाह भएपछि उहाँले केरा बोकेर बसको पछि दौडिदै सामान बेच्न सुरु गर्नुभएको हो ।

हरेक साँझ उहाँ दिनभरिको बिक्रीबाट भएको आम्दानीको हिसाब राख्नुहुन्छ । भोलिपल्ट सबेरै बेच्नका लागि डुम्रे बजारमा पुग्न हतार हुन्छ । “सबेरै उठेर डुम्रे बजार पुग्न सके बढी बिक्री गर्न सकिने आश हुन्छ । बढी व्यापार गर्न सके दैनिक खर्च बढी जुटाउन सक्छु भन्ने आशले डुम्रे बजार आउन हतार हुन्छ”, सुकुमायाले भन्नुभयो । पालुङटारमा उत्पादन भएको केरा डुम्रे बजारमा ल्याएर बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

केरा बेचेरै उहाँले छोराछोरी हुर्काउनुभयो । छोराछोरी हुर्किसके पनि यसरी सामान बेच्न भने उहाँले छोड्नुभएको छैन । “अरू गरी खाने स्रोत केही छैन । यो उमेरमा पनि केरा बोकेर नै गुजारा टार्न खर्चकाे जोहो गर्छु । हातखुट्टा चल्दा र सक्दासम्म यसरी नै खर्च जुटाएर गर्जो टार्छु,” सुकुमायाले भन्नुभयो, “माग्नु भएन चोर्नु भएन गरेर खान कसैले पनि रोक्दैन ।”

उहाँले भन्नुभयाे, “बाहिरको होइन । यहीं उत्पादन भएको प्राङ्गारिक केराको हाता ल्याएर बसका यात्रुलाई बिक्री गर्छौं ।” सोही ठाउँकी ५० वर्षीया देवीमाया कुमाल, ४५ वर्षीया निर्मला कुमाल पनि डुम्रे बजारमा केराको हाता बोकेर वर्षौंदेखि बसको अघिपछि दौडिदै दैनिक खर्च जोहो गर्छन् ।

दैनिक खर्चको जोहोका निम्ति सोही ठाउँकी २० वर्षीया आरती कुमाल पनि यसै पेसालाई अँगाल्दै आउनुभएको छ । दुई वर्षीय छोरालाई घरमा छोडेर खर्चको जोहोका लागि यस पेसामा आबद्ध भएको उहाँ बताउनुहुन्छ । सासूलगायत गाउँका आफन्ती पनि यही पेसा गरी घर खर्च चलाउँदै आएकाले आफू यस पेसामा जोडिएको उहाँ सुनाउनुहुन्छ ।

पाँच सयदेखि सात सयसम्म दैनिक केरा बिक्री गर्ने गरेको उहाँहरुको भनाइ छ ।  एक हाता केरा ५० रुपियाँको दरले बिक्री गर्ने गरेको आरती बताउनुहुन्छ । “ग्राहकले ३० रुपियाँमा माग्छन् । कम मूल्यमै बेचिन्छ कहिलेकाहीँ । त्यतिबेला हामीलाई घाटा लाग्छ”, उहाँले भन्नुभयो, “दैनिक एक सय रुपियाँदेखि दुई सय रुपियाँसम्म बचाउन सकिन्छ ।”

घरबाट डुम्रे बजारसम्म दैनिक आउनेजाने भाडा २८० र पिउने पानी, खाजा गरी दुई सय रुपियाँ खर्च हुने गरेको उहाँहरुको भनाइ छ । उहाँहरुले व्यापार गरेबापत दैनिक ३० रूपियाँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइलाई सरसफाइ खर्च भनेर दस्तुर तिर्नुपर्छ । यस पेसामा अधिकांश भूमिहीन सुकुम्वासी संलग्न छन् ।

व्यवसाय बन्द गर्ने त्रास
उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइले हातमा बोकेर गरिने व्यापार बन्द गर्न परिपत्र गरेपछि उहाँहरु हातमुख जोर्न समस्यामा पर्नुभएको छ । ठेलामा व्यापार गर्न दिने परिपत्र प्राप्त भएको उहाँहरुको भनाइ छ ।  सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्था छैन । “हामीले यो काम गर्न नपाए हाम्रो चुल्होमा आगो बल्दैन । ठेला किन्न सक्ने अवस्थामा हामी छैनौँ । हामीलाई यसरी नभए पनि व्यापार गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो,” पुराना बिक्रेता देवीमाया कुमाल भन्नुहुन्छ । डुम्रे बजारमा केरा, पानीलगायत अन्य सामग्री हातमा बोकेर बेच्ने करिब ६० जना छन् ।