• ११ असोज २०८१, शुक्रबार

सुनसरी–३ मा तेस्रो पटक गच्छदार र चौधरी आमनेसामने

blog

जयकृष्ण यादव

इनरुवा, असोज २५ गते । सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेता बीच तेस्रो पटक प्रतिस्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा उहाँहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । 

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरीबाट प्रतिनिधि सभा, संविधान सभा गरी ६ पटक विजयी हुँदै सातौँ पटक निर्वाचनमा उम्मेदवार बन्नुभएको छ । त्यस्तै, नेकपा (एमाले) का भगवती चौधरी तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । गच्छदार प्रजातन्त्र स्थापनापछि ६ पटक निर्वाचित हुनु भए पनि चौधरी दुई पटक झिनो मतान्तरले गच्छदारसँग पराजित हुनुभयो ।  

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुवै जना फेरि पनि एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा हुने भएपछि चुनावी माहौल सुनसरीमा तातेको छ । नेता गच्छदार र चौधरीबीच २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । 

नेता गच्छदारले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट दोस्रो संविधानसभा निर्वाचन २०७० मा १७ हजार ५ सय २४ मत ल्याएर विजयी हुनुभएको थियो ।  एमालेबाट चौधरीले १७ हजार १ सय ६२ मत ल्याएर पराजित हुनुभएको थियो । गच्छदार र चौधरीबीच ३ सय ६२ मतान्तर थियो । 

त्यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ३८ हजार ९७२ मत ल्याएर नेता गच्छदार विजयी हुनुभएको थियो । ३२१ झिनो मतान्तरले चौधरी पराजित हुनुभयो । उहाँले ३८ हजार ६५१ मत ल्याउनुभएको थियो ।  

गच्छदार २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधानसभा निर्वाचनका मधेसी अधिकार फोरम (लोकतान्त्रिक) बाट विजयी हुनुभएको थियो । अहिले नेता गच्छदार बालुवाटारको ललिता निवास भ्रष्टाचार मुद्दामा पीडित हुनुभएकाले त्यसले केही समस्या पर्न सक्ने मतदाताहरूको आङ्कलन छ ।