• ११ असोज २०८१, शुक्रबार

हामी एक ढिक्का भएर निर्वाचनमा लागेका छौं : महामन्त्री शर्मा

blog

विष्णुप्रसाद पोखरेल

दमक, असोज २५ गते । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले आफूलाई काठमाडौं र नवलपरासी लगायतका क्षेत्रबाट निर्वाचनमा उम्मेदवार हुन अनुरोध भए पनि आफूले गृह जिल्लाको क्षेत्र रोजेको बताउनु भएको छ । 

विगतमा दुई पटक पराजित भए पनि मेरो आफ्नो भूगोल मैले छाडन सकिनँ, उहाँले भन्नुभयो । झापाको मेचीनगरमा मङ्गलबार भएको कार्यक्रममा शर्माले आफूलाई सर्वसम्मत रूपमा गठबन्धनले काठमाडौंबाट निर्वाचनमा उठ्न आग्रह गरे पनि आफ्नो क्षेत्र रोजेको प्रष्ट पार्नुभयो । यस पटक जनताबाट न्याय पाउने अपेक्षा पनि उहाँले गर्नुभयो । 

शर्माले पार्टीभित्र उम्मेदवारीको विषयमा कुनै प्रकारको समस्या नरहेको बताउनुभयो ।  स्थानीयस्तरमा आन्तरिक विवाद छ भन्ने हल्ला निराधार नभएको भन्दै कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएको बताउनुभयो । हामी एक ढिक्का भएर निर्वाचनमा लागेका छौ, उहाँले भन्नुभयो ।

अहिले बनेको गठबन्धन अस्थायी वा निर्वाचनका लागि मात्र बनेको नभएर यो दीर्घकालीन भएको समेत शर्माले बताउनुभयो । “यो गठबन्धन भत्कनेखालको र क्षणिक होइन, कम्तीमा ५ वर्षसम्म जान्छ” शर्माले भन्नुभयो, “यो गठबन्धन कुनै समय आवश्यकता र कुनै समय बाध्यताजस्तो देखिए पनि अहिले आवश्यकता र बाध्यता दुवै हो ।” 

आफू इमान्दारितापुर्वक जनप्रतिनिधि भएर आफ्नो क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । यहाँको हात्तीसम्बन्धी समस्या, सुकुम्वासी र खोलाको समस्या समाधान गर्न आफूले प्राथमिकता दिने पनि उहाँले बताउनुभयो ।