• ११ असोज २०८१, शुक्रबार

इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी

blog

उम्मेदवारी मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अगाडि बढ्दै गठबन्धनका नेता तथा कार्यकर्ता । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

इलाम, असोज २५ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी परेको छ। 

प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार निर्वाचन क्षेत्र रहेको इलाममा छ जनाको सिटका लागि पाँच स्वतन्त्रसहित ५४ जनाको उम्मेदवारी परेको हो। प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेश सभाका लागि २९ जना गरेर ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ र २ मा १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसहित आठ राजनीतिक दल र तीन स्वतन्त्र गरेर ११ जना जनाले उम्मेदवारी दिएका छन्। 

यस्तै  क्षेत्र नम्बर २ मा संविधानसभाका पूर्व अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहित १२ राजनीतिक दल र दुई स्वतन्त्र गरेर १४ जनाले मनोनयन दर्ता गराएका छन्।  

गठबन्धनबाट क्षेत्र नम्बर १ मा खनालले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट पटक पटक चुनाव जित्नु भएका खनाल यस पटक भने कांग्रेस र माओवादी केन्द्रको साथले चुनाव जित्ने दाउमा हुनुहुन्छ। खनाल सङ्घमा लड्न नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन दर्ता गराउनु भएको छ। 

त्यस्तै जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमलकुमार राई, नेपाली कांग्रेस (बीपी) का गणेशप्रसाद पौडेल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै नीमातेन्जिङ शेर्पा, नेत्रप्रसाद रेग्मी र विक्रम पाण्डेले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनु भएको छ। 

इलामकै क्षेत्र नम्बर २ मा नेम्बाङलाई चुनौती दिन सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले उम्मेदवारी दिनु भएको छ। खड्का युवा माझ समाजसेवाका कामले लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ।  नेम्बाङले पटक पटक चुनाव जितेर गए पनि उक्त क्षेत्रको विकासमा चासो नदिएको स्थानीयको गुनासो छ। 



उक्त क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (बीपी) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका यामबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गराउनु भएको छ।् त्यस्तै जुनु माखिम र दिपेश बोहोराले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनु भएको छ। 

प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (क) मा ८, १ (ख) मा ६ जना २ (क) मा ७ जना र २ (ख) मा ७ जनाले राजनीतिक दलबाट १ जना स्वतन्त्र गरी आठ जनाले मनोनयन दर्ता गराउनु भएको छ।  क्षेत्र नम्बर १ (क) मा सत्ता गठबन्धनका तर्फबाट प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ खिनु लङ्वा (लिम्बू) ले मनोनयन दर्ता गराउनु भएको छ।  त्यस्तै एमालेकी शोभा पराजुली, मंगोल नेशनल अर्गनाइजेशनका अनुपंदेव माक्रेहाङ, मौलिक जरोकिलो पार्टीका आशिष महत, राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कट्टेल, राष्ट्रिय जनमुक्ति पार्टीका दलप्रसाद लिम्बू, जनता समाजवादी पार्टी नेपालका लिलाबहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुस्मा फागोले मनोनयन दर्ता गराउनु भएको छ। 

क्षेत्र नम्बर १ (ख) मा गठबन्धनका तर्फबाट रोङ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका क्षेत्रीय सभापति शमशेर राईले मनोनयन दर्ता गराउनु भएको छ। त्यस्तै एमालेका तर्फबाट माई नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपककुमार थेबे,  राष्ट्रिय जनमुक्ति पार्टीकी इन्द्रकुमारी लुङ्गेली, जनता समाजवादी पार्टी नेपालका ओपेन्द्र राई, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रकुमार लामिछाने मनोनयन दर्ता गराउनु भएको छ। 

त्यस्तै क्षेत्र नम्बर २ (क) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरीले मनोनयन दर्ता गराउनु भएको छ भने एमालेका तर्फबाट जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बरालले मनोनयन दर्ता गराउनु भएको छ। 

त्यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका टंकबहादुर नोगु, राष्ट्रिय जनमुक्ति पार्टीका मित्र जवेगू, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामनाथ भण्डारी, जनता समाजवादी पार्टी नेपालका रामकुमार लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका लक्षुमन राई माक्रेहाङने मनोनयन दर्ता गराउनु भएको छ । यस क्षेत्रमा गिरी र बरालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) ले मनोनयन दर्ता गराउनु भएको छ भने एमालेका तर्फबाट प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले उम्मेदवारी दर्ता गराउनु भएको छ। 

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागो र स्वतन्त्रको हैसियतमा हर्कप्रसाद साम्वाले मनोनयन दर्ता गराउनु भएको छ। इलाममा मुख्य गरी गठबन्धन र नेकपा एमालेको प्रतिस्पर्धा हुने देखिएको छ। 

इलाममा दुई लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन्। जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर  २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन्।