• ९ मंसिर २०८१, आइतबार

विस्थापितको जङ्गलमा बास

blog

प्युठान समाचारदाता

प्युठान, असोज २५ गते । स्थानीय पोमबहादुर बुढामगरले घर छोड्नुभएको २४ घण्टा बितेको छ। घरमाथिबाट पहिरो खस्न थालेपछि बुढामगरसहित सबैले घर छोडेका छन्। यहाँको ऐरावती गाउँपालिका–४, तिग्रापातालको बस्ती उच्च जोखिममा परेपछि स्थानीय घर छाड्न बाध्य भएका हुन्। 

“आइतबार बिहानै गाउँका सबैले घर छाडेका छन्,” बुढामगरले भन्नुभयो, “माथिबाट ठूलो पहिरो गएको छ, हामीहरू त जङ्गलमा अस्थायी रूपमा बसेका छौँ।” “हामी १८ जनाको परिवार जङ्गलमा त्रिपाल टाँगेर बसेका छौँ,” बुढामगरले भन्नुभयो, “अन्य कोही आफन्तकोमा र विद्यालयमा आश्रय लिइरहेका छन्। तिग्रापातलका २३ घरपरिवार पहिरोका कारण विस्थापित भएको स्थानीय रवीन्द्र रोकाले जानकारी दिनुभयो। 

गाउँलेले सीमित सामान मात्र निकालेर घर छाडेका छन्। पशुचौपाया छाडिदिएका छन्। त्यसैगरी माण्डवी गाउँपालिका–२, धनचौरका स्थानीय पनि जङ्गलमा बस्दै आएका छन्। पहिरोले सात घर बगाएको र अरू घर जोखिममा रहेको पीडित दानबहादुर खत्रीले बताउनुभयो। 

पहिरोबाट विस्थापित भएकालाई तत्काल राहत र व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो। स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापनको काम गरिएको उहाँको भनाइ छ। 

“विद्यालयसमेत पहिरोको जोखिममा भएकाले टेन्टको व्यवस्थापनका लागि केन्द्रमा माग गरिएको छ,” उहाँले भन्नुभयो, “रेडक्रसलगायत संस्थामार्फत राहत सामग्री वितरण गर्न थालिएको छ।” महिला, बालबालिकाका लागि यूएनएफपीएसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो। पहिरो पीडितहरूलाई राहत तथा अन्य व्यवस्थापनका काम प्रभावकारी गर्ने कार्य भइरहेको बताइएको छ।