• १३ साउन २०८१, आइतबार

बैङ्कमा सेवाग्राहीको भीड

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज २५ गते । दशैँको लामो बिदापछि सोमबारबाट खुलेका बैङ्क तथा वित्तीय संस्थामा सेवाग्राहीको भीड देखिएको छ। विशेष गरी वैदेशिक रोजगारीबाट पठाइएको विप्रेषण (रेमिट्यान्स) निकाल्नेको यहाँका मनी ट्रान्सफर र आईएमई सेन्टरमा धेरै भीड देखिएको हो। असोज १४ गतेदेखि बन्द भएका बैङ्क तथा वित्तीय संस्था सोमबार १० दिनपछि खुलेका छन्। 

दशैँ बिदापछि अन्य प्रदेशमा आइतबारबाटै कार्यालय र बैङ्क तथा वित्तीय संस्था खुले पनि मधेश प्रदेशमा भने इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा आइतबार प्रदेश सरकारले बिदा दिएको थियो। सर्लाहीको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, नयाँ रोड, मलङ्गवालगायत बजार क्षेत्र र ग्रामीण भेगमा रहेका बैङ्क तथा वित्तीय संस्थामा बैकिङ कारोबारका लागि सेवाग्राही अत्यधिक आएका बैङ्कले जनाएका छन्। 

राष्ट्रिय वाणिज्य बैङ्क लालबन्दी शाखाका प्रबन्धक प्रदीपकुमार झाले लामो बिदापछि बैङ्क खुल्दा सेवाग्राहीको चाप धेरै भएको जानकारी दिनुभयो। जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा रहेका वाणिज्य बैङ्कसहित एनआइसी एसिया, ग्लोबल आईएमई, सानिमा, सिद्धार्थ, इन्भेस्टमेन्टलगायतका बैङ्कमा सोमबार दिनभर नै सेवाग्राहीको भीड देखियो। बैङ्कमा पैसा जम्मा गर्न तथा झिक्नका लागि पुगेका सेवाग्राहीले केही समय लाइनमा बसेर सेवा लिएका छन्। रकम झिक्ने र राख्ने सेवाग्राही उही अनुपातमा देखिएका छन्।