• ११ असोज २०८१, शुक्रबार

सुनील र राजेन्द्रबीच तेस्रो पटक प्रतिस्पर्धा

blog

हिले समाचारदाता 

हिले, असोज २५ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्र्तगत धनकुटामा गठबन्धनको तर्फबाट सङ्घमा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनीलकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गराउनुभयो। यो उहाँहरूको तेस्रो पटकको प्रतिस्पर्धा हो। 

पहिलो पटक उहाँहरूबीच २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा भएको थियो। तत्कालीन धनकुटा निर्वाचन क्षेत्र नम्बर दुईबाट दुवैले प्रतिस्पर्धा गर्नुभएको थियो जसमा थापाले राईलाई पराजित गरी संविधान सभा सदस्य बन्न सफल हुनुभएको थियो। यता २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भने थापालाई पराजित गदै राई प्रतिनिधि सभा सदस्य बन्नुभयो। राईले कुल ३७ हजार ३३३ मत प्राप्त गर्दा थापाले २६ हजार ८७४ मत मात्र प्राप्त गर्नुभएको थियो। अघिल्ला दुवै निर्वाचनमा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार हुनुहुन्थ्यो। नेपाली कांग्रेसले थापालाई सघाएको थियो। त्यति बेला नेकपा एमाले र माओवादी केन्द्र भने एक भएर चुनाव लडेका थिए। 

नेपाली कांग्रेसको तर्फबाट भने थापाको यो पहिलो निर्वाचन हो। थापा २०७६ सालमा नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो। यो निर्वाचनमा नेकपा एमालेलाई जसपाको साथ रहेको छ भने थापालाई नेकपा एकीकृत माओवादी केन्द्रको साथ छ। नेकपा (एकीकृत माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हेमराज भण्डारी भने पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। भण्डारी तत्कालीन धनकुटा निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलो संविधान सदस्यमा विजयी हुनुभएको थियो। दोस्रो संविधान सभा निर्वाचनमा भने नेकपा एमालेका टिकाराम चेम्जोङसँग पराजित हुनुभएको थियो। धनकुटाको विकासको लागि आफ्नो महत्त्वपूर्ण भूमिका रहकाले आफ्नो जित निश्चित भएको थापाको भनाइ छ। यता राई भने अघिल्लो पटकका बाँकी काम पूरा गर्ने आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। 

सङ्घतर्फ नौ जनाको उम्मेदवारी

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्र्तगत सङ्घतर्फ नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट थापा र एमालेका तर्फबाट राईसहित नौ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र राईबाहेक नेकपा माओवादीका पूर्वपोलिटब्युरो सदस्य हेमराज भण्डारीले पनि सङ्घमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै पूर्वमाओवादी नेता गङ्गाराम गोम्देनले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको तर्फबाट अमुल राई, एकीकृत शक्ति नेपालका रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी कुमारबहादुर थापा, मङ्गोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बूले पनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। धनकुटामा सङ्घतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको छ।