• ११ असोज २०८१, शुक्रबार

दलको विकल्प राजनीतिक दल नै हो : अध्यक्ष ओली

blog

विष्णुप्रसाद पोखरेल

दमक, असोज २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा राजनीतिक दलको विकल्प अरू हुन नसक्ने बताउनुभएको छ । राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो उहाँले भन्नुभयो । 

झापाको दमकमा सोमबार एक कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक दलहरूले केही  गरेनन्, राजनीतिक दलका नेताहरूले केही बुझेका छैनन् जस्ता अनर्गल प्रचार भइरहेको उहाँले बताउनुभयो । त्यस्ता हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । सही राजनीतिक नेतृत्वबाटै मूलकमा परिवर्तन सम्भव रहेको उहाँले बताउनुभयो । 

मुलुकमा पछिल्लो समय आफू प्रधानमन्त्री रहेको अवस्थामा भएका विकास निर्माणले केही हुन्छ भन्ने पुष्टि भएको अध्यक्ष ओलीले जनाउनुभयो । यो अवधिमा बनेका बाटाघाटा, पुलपुलेसाहरु, रेल क्षेत्रमा भएको विकास, समुन्द्रमा नेपालमा पहुँच राजनीतिक नेतृत्वका कारण नै सम्भव भएको उहाँले बताउनुभयो । 

प्रजातान्त्रिक अभ्यासमा स्वतन्त्र उम्मेदवारी दिने अधिकार सबैमा रहेको भन्दै यसको सम्मान गर्नु पर्ने पनि उहाँले बताउनु भएको छ । राजनीति बुझ्नका लागि र प्रजातान्त्रिक अभ्यासलाई प्रयोग गर्नुलाई नराम्रो मान्न सकिन्न उहाँको भनाइ छ । राजनीति लगायत सबै प्रकारका परिवर्तन र विकासका लागि मूलकमा सक्षम नेतृत्व आवश्यक भएको ओलीले बताउनुभयो ।

“विकसित अमेरिका, बेलायत लगायतका देशमा पनि राजनीतिक नेतृत्वबाटै ठूला परिवर्तन भएको छ” ओलीले भन्नुभयो । स्वतन्त्र व्यक्तिका मुद्दा मात्र हुने भएकाले मूलक परिवर्तन गर्न अहिलेसम्मका परिवर्तनलाई संस्थागत गरेर अघि बढ्न राजनीतिक दलको विकल्प कोही हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

ओलीले एमालेले कसैसँग निर्वाचनमा गठबन्धन नगरेको भन्दै केही ठाउँमा तालमेल गरेको बताउनुभयो । हामीले कसैसँग गठबन्धन गरेका छैनौँ, कतिपय ठाउँमा तालमेल गरेका छौँ, उहाँले भन्नुभयो । “स्पष्ट बहुमत ल्याउनेगरी हामी अघि बढेका छौँ र मङ्सिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छ” ओलीले भन्नुभयो ।