काठमाडौं, असोज २४ गते । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतमा युवती नाबालिका नरहेको दावी गर्नुभएको छ । प्रहरीले सन्दीपलाई सोमबार अदालतमा पेस गरेको थियो ।
अदातलमा सन्दीपले आफु निर्दोष रहेको न्यायाधिस समक्ष बताउनुभएको सन्दीपका वकिल एवं अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार युवती १९ वर्षकी भएको र सन्दीपसँगको भेटमा पनि सोही कुरा गरेकी छन् । ‘‘ती युवतीको जन्ममिति दुई वटा रहेछ । इजलासमा उमेरको कुरा पनि भएको छ । सन्दीपले आफूलाई युवतीले बारम्बार १९ वर्ष रहेको बताएको उल्लेख गर्नुभएको छ,’’ वकिल घिमिरेले भन्नुभयो ।
सन्दीपले अदालतमा आफु निर्दोष रहेकोमा ‘कन्फिडेन्ड’ प्रस्तुत गरेको र गोपनियता भंग भएको बारेमा वैकल्पिक उपचारबारे जानकारी लिएको पनि घिमिरेले बताउनुभयो । वकिल घिमिरेले युवतीको दुई वटा जन्ममिति रहेको पनि बताउनुभयो ।
सन्दीपलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ । अदालतले असोज २० गतेदेखि लागु हुनेगरी हिरासतमा राख्न अदालतले अनुमती दिएको हो । युवतीले भदौ २१ गते सन्दीपविरुद्ध प्रहरीमा बलात्कार आरोपको उजुरी दिएकी थिईन् ।
ती युवतीले भदौ ५ गते आफुलाई गौशाला नजिकको एक होटलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिईन् । उजुरीमा उनले आफु १७ वर्ष भएको उल्लेख गरेकी छन् । त्यसपछि भदौ २३ गते प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
लगत्यै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कप्तान र राष्ट्रिय टोलीबाट बर्खास्त गरेको थियो । त्यतिवेला विदेशमा रहनुभएकासन्दीपविरुद्ध प्रहरीले डिफ्युज नोटिस समेत जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेको करिव एक महिनापछि गत बिहीबार सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
दशैं विदाका कारण अदालत बन्द रहेकोले सोमबार अदालत खुलेकै दिन सन्दीपलाई अदालतमा पेस गरिएको हो । अदालतले सन्दीपलाई असोज २७ गते हाजिर हुने सर्तमा सात दिनको म्याद थप गरेको हो ।