• १२ असार २०८१, बुधबार

झरीमा रुझ्दै मनोनयन दर्ता

blog

सुदूरपश्चिम प्रदेश ब्युरो 

धनगढी, असोज २४ गते  । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ क्षेत्र रहेका छन् ।

दार्चुला समाचारदाताका अनुसार दार्चुलामा प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ । सो क्षेत्रका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उम्मेदवारी दर्ता गर्नुभएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मनोनयन दर्ता गर्नुभएको छ ।

दार्चुलामा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका २१ उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस विक्रमसिंह धामी र नेकपा (एमाले)का हरदेव जोशीले मनोनयन दर्ता गर्नुभएको छ ।

क्षेत्र नम्बर १ ‘ख’ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी, नेकपा (एमाले)का रामदत्त जोशीले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।

अछाम समाचारदाताका अनुसार अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ सात जना र प्रदेश २ मा पाँच जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरले मनोनयन दर्ता गर्नुभएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का झपटबहादुर बोहराले मनोनयन दर्ता गर्नुभएको छ । 

अछाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का यज्ञबहादुर बोगटी, गठबन्धनबाट नेपाली कांग्रेसका पुष्पबहादुर शाहले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । 

अछाम क्षेत्र नम्बर १ ‘क’ मा नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा (एमाले)का देवबहादुर कुँवरको मनोनयन दर्ता गर्नुभएको छ । प्रदेश क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का कृष्णप्रसाद जैसी र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का झपट साउँदको मनोनयन दर्ता भएको छ । 

अछाम क्षेत्र नम्बर २ ‘क’ मा नेकपा (एमाले)बाट भीमबहादुर विष्ट र सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावलको मनोनयन दर्ता भएको छ । प्रदेश क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का शिवप्रसाद उपाध्याय, नेपाली कांग्रेसका मानबहादुर रावलको मनोनयन दर्ता भएको जनाइएको छ ।  

टीकापुर समाचारदाताका अनुसार कैलाली  क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको छ । हवाई उडान अवरुद्ध हुँदा चौधरीले वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको नेपाली कांगे्रसका क्षेत्रीय सभापति प्रकाश शाहले जानकारी दिनुभयो ।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट टीकापुर नगरपालिकाका पूर्वप्रमुख तपेन्द्रबहादुर रावलले मनोनयन दर्ता गर्नुभएको छ ।

प्रदेश सभामा मन्त्री रावलको उम्मेदवारी

कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा २ को निर्वाचनलाई पनि महìवका साथ हेरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा २०७४ सालको प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांगे्रस संसदीय दलको नेता पनि हुनुहुन्छ । डा. रावलले अघिल्लो चुनावका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सङ्गठन विभाग प्रमुख लक्ष्मणकिशोर चौरीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नेकपा (एमाले)ले युवा नेता द्वारिकाप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभा १ मा नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र)का दीर्घराज विनाडीको उम्मेदवारी परेको छ । विनाडी २०७९ को स्थानीय चुनावमा जोशीपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नेकपा (एमाले) र जनता समाजवादी गठबन्धनका तर्फबाट भगतराम थारूको उम्मेदवारी परेको छ  । भगतराम २०७४ को निर्वाचनमा उपेन्द्र यादवको पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । नागरिक उन्मुक्ति पार्टीले भने कैलाश चौधरीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा यसअघि राजपाबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णकुमार चौधरीले यस पटक लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अविरल वर्षाका कारण आयोगले दिएको समयमा उम्मेदवार उम्मेदवारी दर्ता गर्न आउन नसक्दा ढिलो गरी उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो ।

कैलाली २ मा बडुवाल, रावल र चौधरीको मनोनयन 

कैलाली क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का भगत बडुवाल, नेकपा (एमाले)का झपटबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले मनोनयन दर्ता गर्नुभएको छ ।  

कैलाली क्षेत्र नम्बर २ ‘क’ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कमल शाह ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का नन्दबहादुर साउद राजेन्द्रले उम्मेदवारी दिनुभएको छ । यस्तै क्षेत्र नम्बर २ ‘क’ मा नेकपा (एमाले)का कमला ओली र ‘ख’ डेजी पाण्डेले उम्मेदवारी दर्ता गर्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट ‘क’ मा रतन थापा र ‘ख’ मा रामेश्वर चौधरी उम्मेदवार बन्नुभएको छ ।

घोडाघोडी समाचारदाताका अनुसार कैलाली क्षेत्र नम्बर ३ मा गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरी (कुन्दन), नेकपा (एमाले)का गौरीशङ्कर चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गा चौधरीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । 

त्यसैगरी प्रदेश सभाका लागि गठबन्धनबाट 

‘क’ मा नेपाली कांग्रेसका खेमराज डङ्गौरा, ३ ‘ख’ मा नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर साउँदको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेकपा (एमाले)का राजबहादुर बुढाले ‘क’ बाट र  जयनारायण जोशीले ‘ख’ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

यस्तै गरेर प्रदेश सभा निर्वाचनका लागि प्रदेश 

‘ख’ मा छ जना बागी उम्मेदवार उठेका छन् । नेकपा (एमाले)का मनराज शाही, नेकपा (एकीकृत समाजवादी)का गोविन्द बुढा, नेपाली कांग्रेसका गोविन्दराज जोशी, लक्ष्मण शाही र नेकपा (माओवादी केन्द्र)का खगेन्द्र हमाल, छोटेलाल चौधरीले प्रदेश सभाका लागि बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । 

कैलाली ४ मा पूर्वमन्त्री प्रतिस्पर्धामा 

कैलाली क्षेत्र नम्बर ४ मा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, नेकपा (एमाले)बाट सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरू दुवै जना सङ्घीय सरकारका मन्त्री भइसक्नुभएको छ । यस्तै प्रदेश सभा ‘क’मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, ‘ख’ मा नेपाली कांग्रेसका प्रकाशबहादुर बमले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

यस्तै नेकपा (एमाले)बाट प्रदेश ‘क’मा भीमबहादुर देउवा ‘ख’मा हरिसिंह साउदले उम्मेदवारी दर्ता गराएका छन् । 

कैलाली ५ मा पन्त, राना र चौधरी 

कैलाली क्षेत्र नम्बर ५ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लाराज पन्तले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा (एमाले)का तर्फबाट नारदमुनि रानाले उम्मेदवारी दर्ता गर्नुभएको छ । राना ०७४ निर्वाचनमा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनु भएको थियो । उहाँ त्यसअघि संविधान सभाको सदस्यसमेत हुनुहुन्थ्यो । 

प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर घटनाको दोषीको आरोप खेपेका लक्ष्मण चौधरीले समेत उम्मेदवारी दर्ता गर्नुभएको छ । क्षेत्र नम्बर ५ ‘क’ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी) केन्द्रका रमेश धामी र ‘ख’ मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

नेकपा (एमाले)का नेपालू चौधरीले ‘क’ मा र दुर्गाप्रसाद जोशीले ‘ख’ मा उम्मेदवारी दर्ता गर्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट ‘क’ मा श्रीराम थारू र ‘ख’ मा गोठुराम चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

कैलाली ५ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट बागी उम्मेदवार परेको छ ।

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार राज्यमन्त्री पुष्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनुभएको छ । 

ओझा ०५६ को आम निर्वाचन तत्कालीन कैलाली क्षेत्र नम्बर ३ र ०७१ को उपचुनावमा क्षेत्र नम्बर ६ (हालको ५) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । ०५६ मा चुनाव जितेपछि उहाँलाई केही महिना सञ्चार राज्यमन्त्री पनि बनाइएको थियो । 

ओझालाई गत चुनावमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेस नेत्री आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा दुई वर्ष अघि पार्टी सदस्य नरहने गरेर कारबाहीसमेत गरिएको थियो ।

नेता ओझाको उम्मेदवारी दर्ता कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका भाइ श्याम हमाल र नेपाली कांग्रेस कार्यकर्ताको उपस्थिति थियो । गत स्थानीय चुनावमा हमाल पनि स्वतन्त्र उम्मेदवारकै रूपमा विजयी हुनुभएको थियो । यस्तै प्रदेश सभा ‘क’ मा नेकपा (माओवादी केन्द्र) का रमेश धामी बागी उम्मेदवार बन्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का यज्ञराज बाँस्तोला र नेकपा (माओवादी केन्द्र)का डीएल भण्डारीले समर्थन गर्नुभएको छ । दुवै जना प्रदेश सभा सदस्यको आकाङ्क्षी हुनुहुन्थ्यो । 

यस्तै प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका महासमिति सदस्य क्षितिज भण्डारी बागी उम्मेदवार बन्नुभएको छ ।  

दिपायल समाचारदाताका अनुसार डोटीमा  प्रतिनिधि सभाका लागि र प्रदेश सभाका लागि १३ जनाको उम्मेदवारी परेको छ । एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा छ जनाको उम्मेदवारी परेको छ ।

वर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले)को तर्फबाट गौरी वलीले उम्मेदवारी दर्ता गराउनुभयो ।

यस्तै प्रदेश सभा ‘क’का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभयो । सो क्षेत्रमा नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष चक्र मल्लले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रदेश सभा ‘ख’का लागि गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली र नेकपा (एमाले)का टेकबहादुर बमको उम्मेदवारी परेको छ । 

बाजुरा समाचारदाताका अनुसार बाजुरामा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितका दलको उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।  प्रदेश ‘क’ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता कर्णबहादुर विक र नेकपा (एमाले)का बलदेव रेग्मीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यसै गरेर प्रदेश ‘ख’ बाट यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका पदमबहादुर शाही र नेकपा (एमाले)का लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिनुभयो ।

बैतडी समाचारदाताका अनुसार अविरल बर्र्सातका कारण सडक तथा हवाई मार्ग अवरुद्ध हुँदा वारिसमार्फत बैतडीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट प्रदेश प्रदेश ‘क’ र  शिवराज भट्टले प्रदेश ‘ख’ मा वारिसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धन दलबाट प्रतिनिधि सभाका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र्र कुँवर (विजयसुन्दर)ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

नेकपा (एमाले)बाट प्रतिनिधि सभामा दामोदर भणडारी र प्रदेश ‘क’बाट सुरन्द्र पाल र ‘ख’ बाट लीलाधर भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।