• १२ असार २०८१, बुधबार

पाल्पामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

blog

रेखीराम राना

पाल्पा, असोज २३ गते । दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको पाल्पामा मुख्य दलका उम्मेद्वारबीच प्रतिष्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र गठबन्धन दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । आइतबार प्रतिनिधिसभा र प्रदेश सभाका लागि गठबन्धनमा आबद्ध दलका उम्मेद्वार र  एमालेका उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । जिल्लामा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फ नेपाली काङ्ग्रेसका ज्ञानबहादुर गाहाले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।  क्षेत्र नं. १ मा एमालेबाट नारायणप्रसाद आचार्यले उम्मेद्वारी दिनुभएको छ । 

यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ तर्फ नेकपा (एकीकृत समाजवादी) बाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले उम्मेद्वारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै एमालेबाट युवा नेता ठाकुर गैरेले उम्मेद्वारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दुर्गा बस्यालले जानकारी दिनुभयो । 

प्रदेशसभातर्फ एमालेबाट १ (क) मा राजु श्रेष्ठ, १ (ख) बाट खेमबहादुर सारुले उम्मेद्वारी दिनुभएको छ । गठबन्धन तर्फबाट १ (क) मा काङ्ग्रेसका श्यामकान्त खनाल र १ (ख) मा शंकर खनालले उम्मेद्वारी दिनुभएको छ । 

यस्तै प्रदेशसभातर्फ २ (क) मा काङ्ग्रेसका वीरबहादुर राना र २ (ख) मा माओवादी केन्द्रका तुलाराम घर्तीमगरले उम्मेद्वारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ अन्य दलका र स्वतन्त्र व्यक्तिहरूले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।